बुटवल, फागुन २९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिए । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको बताए । उनले इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै यी दुवै हर्कतविरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताए ।

अहिलेको राजनीति परिवर्तन विशेषत: संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उनले स्पष्ट गरे । त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौंमा लाखौं जनता सडकमा उत्रने दाबी गरे ।

अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने चेतावनी पनि दिए ।

माओवादीलाई जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी
‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ,’ अध्यक्ष दाहालले भने, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदै छ । प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न् भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन् । यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो । यसमा हामी कतै बिचलित हुने छैनौं । दृढ प्रतिबद्धताका साथ अघि बढ्नेछौं ।’

अध्यक्ष दाहालले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए । ‘हिजो जनवादी क्रान्तिका बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्त्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्त्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो,’ उनले भने, ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिका बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्क्रिय रहेका मोर्चाहरुलाई समेत ब्युँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं । अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउनेछौं । त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जानेछौं ।’

हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने सम्भावना नरहेको स्पष्ट गर्दै उनले मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।