
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।”
उहाँले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार अर्थहीन भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने, रोजगारी बन्द हुने, उत्पादन पनि घट्ने, व्यापार घाटा बढ्ने हुँदा बक्यौता उठाउन पनि त उद्योग चलाउनैपर्ने बताउनुभयो ।
औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभयो । खपत अनुसारको महसुल उठाएरै छोडिने उहाँको प्रतिवद्धता थियो ।