काठमाडौँ, भदौ ८ :

सडक डिभिजन कार्यालय तनहुँले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । 

सडक बोर्ड नेपाल तथा विश्व बैङ्कको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसोलिङ कार्य सम्पन्न गरिएको कार्यालयका इन्जिनियर बबिता शर्माले बताउनुभयो । 

उहाँले सोही अवधिमा ८ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको पनि जानकारी दिनुभयो । उक्त अवधिमा ८ किलोमिटर सडक कालोपत्र र चार किलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा तीन दशमलव पाँच किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताउनुभयो । 

त्यस्तै, जिल्लामा ८ दशमलव पाँच किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा आठ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । 

विगतका वर्षमा खसेका दुई ठूला पहिरा मध्ये पृथ्वीराजमार्ग अन्तर्गत साँखर पहिरो रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको इन्जिनियर शर्माले बताउनुभयो । 

गोरखाको घ्याम्पेसाल अन्तर्गत कोखे आहालेको पहिरो रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।