
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा प्यूठान गौमुखी गाउँपालिका- ७ घर भई काठमाडौँ महानगरपालिका- २६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगङ्गा नगरपालिका- ९ मुसरिया घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका- ५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने मध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
लाल बहादुरलाई काठमाडौँ नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौँ महाराजगञ्जबाट हिजो पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।