काठमाण्डौं, भदौ ८ :

धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको बताईएको छ । 
आज दिउँसो खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिएको थियो । 

हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको हो ।
  
बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ । 

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षण समेत गर्नुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । 
यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए ।
 
पछिल्लो पहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।