गाजा पट्टी, चैत ७ :

इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको जनाइएको छ ।

इजरायलले मङ्गलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो ।

हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । यसमा अधिकांश महिला र बालबालिका थिए । हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन ।

पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले आतङ्कवादीहरूलाई मात्र लक्षित गरेको बताएको छ । उसले हमास आवासीय क्षेत्रहरूमा गहिरो रूपमा अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ ।

दक्षिणी सहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ ।