काठमाडौं, चैत १० :

अभिनेता विपिन कार्की एक्सन सिनेमा ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदै छन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदै छन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो ।

ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो चलचित्र हुनेछ । ‘कर्मा’मा विपिन र मुकुन आमानेसामने हुँदा सिनेमा कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीको बुझाइ छ ।

विपिन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्दैछन् । त्यसैले उनीहरू स्वयंका लागि पनि यो चलचित्र प्रतिक्षित बनेको छ ।

दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’ मा कस्तो हुनेछ, प्रतीक्षाको विषय बनेको छ । चलचित्रमा पोजेटिभ पात्रहरूको नेतृत्व विपिनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ ।

टिजरमा विपिनको एक्सन देखिए पनि मुकुनको एक्सन हेर्न भने बाँकी छ । जुन ट्रेलरमा देखिने निर्देशक चौधरीले बताएका छन् । विपिन र मुकुन दुवैले एक्सनका लागि मिहिनेत गरेको सौरभको भनाइ छ ।

‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका चलचित्रभन्दा फरक रहेको मुकुनले यसअघि नै बताइसकेका छन् । आइरहेका चलचित्रभन्दा ‘कर्मा’ विल्कुल फरक रहेको उनको भनाइ छ ।

‘कर्मा’मा उपासना विपिन कार्कीको अपोजिटमा छिन् । विपिन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ ।

चलचित्रमा पोजेटिभ पात्रहरूको नेतृत्व विपिनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ ।

चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।

निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन चलचित्र ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर छ । साहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्य : च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।