काठमाडौँ, चैत १० :

आर्मेनियाले नेपालका लागि किरण मल्ललाई आफ्नो अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित राइसिना संवाद सम्मेलनका क्रममा आर्मेनियाले मल्ललाई औपचारिक रूपमा वाणिज्यदूतमा नियुक्त गरेको हो । 

मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

विदेश मन्त्रालयका अनुसार सम्मेलनमा भएको एक बैठकका क्रममा नवनियुक्त वाणिज्यदूत मल्लले नेपाल- आर्मेनिया बीच सहकार्य प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा गर्न सकिने संयुक्त कार्यबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।  

मल्लको कार्यक्षेत्र काठमाडौँ उपत्यकाभित्र (काठमाडौं, ललितपुर, भक्तपुर) रहनेछ। आर्मेनियाले नेपाल सरकारको स्वीकृतिमा उनलाई २०८१ साल चैत १० गतेदेखि लागू हुने गरी वाणिज्यदूतको जिम्मेवारी प्रदान गरेको हो ।  

दाङमा जन्मिएका मल्लले नर्वेबाट जलविद्युतमा स्नातकोत्तर (पोस्ट ग्राजुएसन) गरेका छन् । उनी बुटवल पावर कम्पनीका पूर्व महाप्रबन्धक समेत भइसकेका छन् ।  

वाणिज्यदूतका रूपमा मल्लले दुवै देशबीचको व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्नेछन् । 

नेपालको कानूनअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका मल्ललाई आर्मेनियाले आवश्यक सहयोग उपलब्ध गराउने उल्लेख छ ।