
सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’मा आज दिवंगत पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्झिएको समाचार समावेश छन् । गिरिजापुत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा ओली र देउवाले गिरिजाप्रसादलाई सम्झिएका हुन् ।
यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै सरकारविरोधी गतिविधि सुरु भएको समाचार समावेश गरेका छौं ।
यसैगरी प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रले बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको समाचार पनि सक्रिय हाइलाइट्समा समावेश छ ।
साथै आजको सक्रिय हाइलाइट्समा राताम्मे बनेको सेयर बजारले लगानीकर्तालाई प्यानिक बनाएको समाचारहरुलाई मुख्य प्राथमिकताका साथ समावेश गरेका छौं ।
प्रस्तुत छ- सक्रिय न्युजको आजको हाइलाइट्स :
ओलीको बोली- डोरीलाई नाल बनाउने ?
प्रधानमन्त्री केपी ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा केहीले इस्यु पाइयो भन्दै डोरीलाई नाल बनाउन लागिरहेको भन्दै कटाक्ष गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले लेखेको ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा उनले घिसिङको नाम नलिई तिललाई पहाड नै बनाउन लागिरहेको दाबी गरे ।
गिरिजाबाबुलाई नक्खु जेलमा चिनें
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको योगदान रहेको बताएका छन् । सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले कोइरालालाई २०२४ सालमा नक्खु जेलमा चिनेको बताए ।
देउवाले उहाँ (गिरिजाप्रसाद) कहिल्यै नथाक्ने मान्छे भएको चर्चा पनि गरे । त्यस्ता जुझारु कहिल्यै नथाक्ने मान्छे आफूले यसअघि कहिल्यै नदेखेको देउवाको भनाइ छ ।
गिरिजाप्रसाद कोइरालासँग धेरै उतारचढाब आएको स्मरण गर्दै देउवाले कांग्रेसबाट आफूलाई निकालेपछि त्यतिबेला पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक राखिएको बताए ।
कुलमानको समर्थनमा देशैभर विरोध
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकारविरोधी गतिविधि सुरु भएको छ । कुलमानका समर्थक तथा विभिन्न दलका युवा संगठनहरूले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् ।
यसैबीच प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कार्यकक्षमै कुटपिट भएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि आक्रोशित हुँदै कार्यालय पुगेका एमाले कार्यकर्ताले श्रेष्ठमाथि हातपात गरेका हुन् । घिसिङ बर्खास्तको विरोधमा देशभर तथा सामाजिक सञ्जालमा समेत सरकारको चर्को आलोचना भइरहेको छ ।
लेखा समितिमा कुलमानको विषय उठाउन खोज्दा...
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रले बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको छ । समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद अमनलाल मोदीले कुलमानको विषय उठाउन खोजेका थिए । उनलाई सभापति ऋषिकेष पोखरेलले बोल्न नदिएपछि तनाव उत्पन्न भएको हो ।
राताम्मे नेप्सेले ‘प्यानिक’ बनायो
नेप्से परिसूचक २५ सय विन्दुको यात्रामा लागेको छ । अघिल्लो सोमबार २६.१० विन्दुले बढेर २,६४०.७८ अंकमा रोकिएको नेप्से मंगलबार भने ५८.०५ अंकले घटेर २,५८२.७३ अंकमा झरेको छ ।
६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढ्दा लगानीकर्ता उत्साही बनेका थिए । तर मंगलबार पुन: ५८.०५ अंकले घट्दै सेयर बजार गिजोलिएको छ । राताम्मे सेयर बजारले लगानीकर्तालाई पुन: प्यानिक बनाएको छ ।