
काठमाडौं, चैत १३ :
राष्ट्रिय सभाको बैठकमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकामा विरोध जनाएका छन् ।
उनीहरुले राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी ओली स्वयं उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएका छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदस्यहरुलाई बारम्बार बस्नका लागि अनुरोध गरे पनि मानेनन् ।
बुधबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरुले विरोध जनाए । सभाध्यक्ष दाहालले गोपी सार्की अछामीलाई बोल्न दिए पनि विरोध गरिरहे ।
अध्यक्ष दाहालले सदस्यहरुलाई पटक-पटक बस्न अनुरोध गरे पनि बस्न नमानेपछि राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित गरे ।