
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अझै बस्न सकेको छैन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आधा घण्टा र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले १५ मिनेटका लागि स्थगित गरेको बैठक अझैसम्म बस्न नसकेको हो ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठकमा अवरोध गरेका थिए ।
बुधबारको बैठक सुरु हुनेबित्तिकै प्रतिनिधिसभामा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । उनले बोलेपछि सभामुखले सबैलाई बस्न अनुरोध गरे पनि घिसिङलाई हटाउने निर्णय भएको भन्दै विपक्षी दलहरुले उठेर विरोध जनाइरहे । सभामुख देवराज घिमिरेले सांसदहरुलाई बस्नका लागि पटक-पटक अनुरोध गरे पनि विरोध भइरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर पनि अहिलेसम्म बैठक बस्न सकेको छैन ।
यस्तै अध्यक्ष दाहालले १५ मिनेटका लागि स्थगित गरेको राष्ट्रिय सभा बैठक पनि सञ्चालन हुन सकेको छैन ।
त्यसअघि राष्ट्रिय सभा सदस्यहरुको प्रतिनिधित्व गर्दै गोपी सार्की अछामीले बैठकमा प्रधानमन्त्री केपी ओली स्वयं उपस्थित भएर कुलमान घिसिङ बर्खास्त गर्नुको कारणबारे जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान रहेको जनाए । राष्ट्रिय सभा अध्यक्ष दाहालले त्यसबारे सदनको ध्यानाकर्षण भएको र सबै बसेर बैठक सञ्चालनका लागि बारम्बार अनुरोध गरे पनि कसैले मानेनन् । विपक्षी दलका नेताहरुले विरोध जनाइरहे ।
त्यसपछि अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित गरे ।
यसअघि आज (बुधबार) बिहान बसेको विपक्षी दलहरूको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेका थिए । बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको नेसपा अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
विपक्षी दलहरुको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि सरकारको दम्भले कर्मचारीलाई बर्खास्त गरेको जनाएका थिए । उनले सरकार संविधानभन्दा माथि छ र भन्दै प्रतिप्रश्नसमेत गरेका थिए ।