काठमाडौं, चैत २१ :


नेपालमा फलामे छड उद्योग निरन्तर खस्कँदो छ । २०७२ को विनाशकारी भूकम्पपछि नेपालमा फलामे छडको बजार विस्तार भएको देखिन्छ । भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाउँदा छडको प्रयोग बढ्यो । भूकम्पपछि छडको प्रयोगमा आएको वृद्धिलाई आधार बनाएर उद्यमीहरूले कोभिडअघि फलामे छड उद्योगमा लगानी पनि गरे । तर, कोभिडपछिका वर्षहरूमा लगानीअनुरूपको प्रतिफल देखिएको छैन । सुस्ताउँदो अर्थव्यवस्था तथा वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण समग्र निर्माण क्षेत्र सुस्ताउन पुग्यो र प्रत्यक्ष मारमा फलामे छड उद्योग परे ।

फलामे छड उद्योगहरूको कुल उत्पादन क्षमता वार्षिक करिब ५० लाख टन छ । तर, पछिल्लो तीन वर्षमा छड उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । तीन वर्षअघि १२ लाख टन उत्पादन भएको छड गत वर्ष त ९ लाख टनमा सीमित हुन गयो । यसरी हेर्दा उद्योगहरूले आफ्नो उत्पादन क्षमताको करिब २० प्रतिशत हाराहारी मात्रै वस्तु उत्पादन गरिरहेका छन् ।

३१ मध्ये २४ उद्योग मात्र सञ्चालनमा
नेपालमा रहेका ३१ फलामे छड उद्योगमध्ये हाल २४ उद्योग मात्रै सञ्चालनमा छन् । सञ्चालनमा नरहेका उद्योगमध्ये केही पूर्ण रूपमा बन्द छन् भने केही सञ्चालनमा भए पनि खर्च धान्न नसक्ने अवस्थामा छन् । अर्थतन्त्र सुधार र विकास निर्माणका कार्यले तीव्रता नपाएसम्म रुग्ण बनेका फलामे उद्योगहरू पुनः सञ्चालनमा आउन कठिन छ ।

लागतका कारण छड महँगो
फलामे छडको कच्चा पदार्थहरूको ग्रेड फरक-फरक हुने हुँदा कच्चा पदार्थहरूको खरिद लागत पनि एकै प्रकारको हुँदैन । पञ्चकन्या स्टिलले फलामे छड उत्पादनमा प्राइम बिलेट्सको प्रयोग गर्छ । प्राइम बिलेट्सको खरिद लागत अन्य ग्रेडका बिलेट्सभन्दा महँगो छ । प्राइम बिलेट्सबाट उत्पादन गरिने छडको लागत नै महँगो भएकाले पञ्जकन्या ग्रुपका उद्योगबाट उत्पादित छडको मूल्य अन्य ब्रान्डका तुलनामा थोरै महँगो छ ।

नेपालमा अधिकांश उपभोक्ताहरू गुणस्तरमा भन्दा मूल्यमा बढी ध्यान दिन्छन् । यसले पञ्चकन्याका उत्पादनलाई बजारमा अन्य ग्रेडको बिलेट्स प्रयोग गर्ने तथा ‘स्पन्ज’ र ‘स्क्राप’ पगाली ‘इन्डक्सन फर्नेस’ मार्फत छड बनाउने उद्योगबाट उत्पादित छडसँग प्रतिस्पर्धा गर्न केही हदसम्म गाह्रो भएको छ ।

नेपालमा छडको बजार मूल्य भारतको मूल्य बराबर आउन थालिसकेको छ ।

कोभिडपछि पञ्जकन्याले आफ्नो व्यापार रणनीति परिवर्तन गरेको छ । कोभिडअघि बिक्रीमा ध्यान दिने गरिएको थियो । तर, अहिले परिस्थिति फरक छ । उद्योगले हाल खरिदकर्ताबाट बिक्रीबापतको रकम उठाउने तथा नगद प्रवाहलाई चुस्त राख्नेतर्फ बढी ध्यान केन्द्रित गरेको छ । कर्जाको ब्याज बढेर बजार खस्किएका कारण नगद प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्नु उद्योगको बाध्यता भएको छ । अहिलेको परिस्थितिमा नगद प्रवाहलाई प्राथमिकतामा नराख्दा कतिपय फलामे छड उद्योग बिक्री गर्नुपर्ने अवस्था आएको छ भने कतिपय बन्द भएका छन् ।

कर्जा दुरुपयोग हुँदा समस्या
कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकले पुनर्कर्जा सुविधा ल्याएर सहज रूपमा कर्जा लगानी हुने व्यवस्था गरेको थियो । तर, सुविधाप्राप्त कर्जाहरू उत्पादनमूलक व्यवसायमा प्रयोग नभई अन्य क्षेत्र (अनुपात्दक क्षेत्र) मा गयो । जसले गर्दा राज्यको आर्थिक अवस्था नै हलचल हुन पुग्यो । फलस्वरूप राष्ट्र बैंकले कसिला नीति अघि सार्दै कर्जा लगानीलाई कस्न थाल्यो । यसको प्रभाव साना व्यवसायीहरू चलायमान हुन सकेनन् र बजारमा पैसाको अभाव हुन थाल्यो । परिणाम निर्माण क्षेत्र विस्तारै सुस्ताउन थाल्यो ।

पछिल्लो दुई वर्षदेखि राज्यले नियमित रूपमा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेका कारण निर्माण व्यवसायीहरूले उद्योगहरूलाई निर्माण सामग्री बापतको भुक्तानी समयमा दिन सकेका छैनन् । निर्माण व्यवसाय र निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगले पछिल्लो समय कठिन अवस्थाको सामना गर्नुपरिरहेको छ । समग्र निर्माण क्षेत्र सुस्ताउँदा र कसिलो मौद्रिक नीतिका कारण साना व्यवसायी धरासायी हुँदा निर्माण सामग्रीको बजार खस्किन थाल्यो ।

राष्ट्र बैंकले पछिल्लो समय कर्जा लगानी सहज बनाउँदै लगेको छ । र, बैंकहरूको आधारदरसमेत एकल विन्दुमा झरेको छ । बैंकको ब्याज सस्तो हुँदा पनि आमउपभोक्ता एवं व्यवसायीमा लगानी गर्ने आत्मविश्वास जाग्न सकेको छैन । निर्माणसम्बन्धी गतिविधि नबढेसम्म छड उद्योगीहरूमा तत्काल आत्मविश्वास पैदा हुन सक्ने सम्भावना कम छ ।

प्रोत्साहन प्रभावकारी भएन
सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत सिमेन्ट, छडलगायत वस्तु निकासीमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था आयो । बजेटको व्यवस्थाअनुरूपको लाभ लिन केही उद्योगीले आर्थिक वर्ष ०७९/८० मा ६० टन छड निकासी गरे । भन्सार विभागका अनुसार ०७९/८० भन्दा अघि छडको निकासी शून्य थियो र त्यसपछिको वर्षमा पनि शून्य नै छ । सरकारले आफूले घोषणा गरेको अनुदान नदिएपछि समस्या भयो ।

विदेशी जनशक्तिको भर
नेपालमा सञ्चालित छड उद्योगहरूबाट स्वदेशी जनशक्तिले रोजगारीको लाभ प्राप्त गर्न नसकेको अवस्था छ । फलामे छड उद्योग रोजगारीका दृष्टिले अन्य उद्योगका तुलनामा जोखिमपूर्ण मानिन्छ । इन्डक्सन फर्नेस भट्टीमा काम गर्ने करिब शतप्रतिशत श्रमिक भारतीय छन् । नेपालमा बढ्दो इन्डक्सन फर्नेस भट्टीमा सिर्जना भएको रोजगारीका अवसरहरूले स्वदेशी श्रम बजारमा फाइदा पुर्‍याएकै छैन ।

नीतिगत अस्थिरता
राज्यले लिने औद्योगिक नीतिले उद्योगहरूको भविष्य टिकेको हुन्छ । विडम्बना नेपालमा उद्योगीहरूले राज्यको औद्योगिक नीतिभन्दा बढी आर्थिक नीतिमा ध्यान दिन बाध्य छन् । निरन्तर परिवर्तन भइरहने अस्थिर कर नीतिका कारण उद्योगीहरू अलमलमा छन् । तीन वर्षअगाडि राज्यले कुनै अध्ययनविना इन्डक्सन फर्नेस मिललाई प्रोत्साहन हुने गरी आर्थिक नीति लागु गर्‍यो ।

नेपाल भूकम्पीय दृष्टिकोणले एकदमै संवेदनशील तथा उच्च जोखिमयुक्त क्षेत्र हो । जलवायु परिवर्तनको मारमा परेको देशमा फलामे छडको गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । तर, सरकारले सीमित उद्योगलाई मात्रै फाइदा हुने गरी गुणस्तरमा दीर्घकालीन असर पर्ने नीतिहरूलाई प्रशय दियो । तर, ३ वर्षपछि आर्थिक वर्ष ०८१/८२ को बजेटमार्फत पुरानो नीतिमा केही संशोधन गर्‍यो । यसरी अध्ययनविना ल्याइएको इन्डक्सन फर्नेस मिल प्रोत्साहन गर्ने नीति वातावरण र गुणस्तरमा प्रतिकूल असर पर्ने खालको हुँदा क्षणिक आर्थिक लाभका लागि धेरै रोलिङ मिलहरूले आफ्नो उद्योगलाई इन्डक्सन फर्नेसमा विस्तार गरे ।

राज्यले अवलम्बन गरेको नीतिको चौतर्फी आलोचना भएका कारण अन्ततः सरकार सामान्य भए पनि नीतिगत सुधारमा जान बाध्य भयो । यद्यपि अझै सुधार गर्नुपर्ने ठाउँ धेरै छन् । खस्कँदो बजार र आर्थिक रूपमा कठिन अवस्थामा क्षणिक आर्थिक लाभका लागि इन्डक्सन फर्नेसमा विस्तार भएका उद्योगहरूको नजरबाट हेर्दा राज्यको लगानीकर्ताहरूप्रतिको चरित्र एकदमै अस्थिर देखिन्छ । अस्थिर नीतिका कारण रोलिङ मिल र इन्डक्सन फर्नेस उद्योग चलाउने दुवैथरी उद्योगी राज्यप्रति विश्वस्त हुन नसक्दा ढुक्कसँग लगानी हुन सकेको छैन ।

बजारमा टिक्न मूल्य युद्ध
कोभिडपछि राष्ट्र बैंकले अवलम्बन गरेको कडा कर्जा नीतिका कारण शिथिल भएका साना व्यवसायीहरूमा अझै पनि आत्मविश्वासको कमी देखिन्छ । साना व्यवसायीहरूमा आत्मविश्वास नजाग्दा समग्र अर्थतन्त्र अझै लयमा आउन सकेको छैन । राष्ट्र बैंकको नीतिको प्रभाव हालसम्म पनि समग्र व्यवसायीको नगद प्रवाहमा देखिएको छ । खस्किएको बजारमा नगद प्रवाहको असर स्वरूप फलामे छड उद्योगहरूबीच एक प्रकारको मूल्ययुद्ध (प्राइस वार) चलेको छ । अहिले सबै उद्योगहरूको पहिलो ध्यान बैंकको कर्जा व्यवस्थापनमा गएको छ ।

छड उद्योगहरू अहिले उत्पादन लागत मात्रै उठ्ने गरी बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा छडको बजार मूल्य भारतको मूल्य बराबर आउन थालिसकेको छ ।

छड तयार गर्न आवश्यक कच्चा पदार्थदेखि जनशक्ति सबै भारतबाट आउने गर्छ । भारतबाट कच्चा पदार्थ सडक मार्गबाट ढुवानी गरी नेपाल ल्याउनुपर्छ । महँगो श्रम लागतमा उत्पादित छडको मूल्यसमेत भारतकै हाराहारी मूल्यमा आउनुले फलामे छड उद्योगको विकराल अवस्था चित्रण गर्छ । यो परिस्थितिबाट पार पाउन केही फलामे छड उद्योगले आफ्नो उत्पादनलाई एंगल पत्तीमा विस्तार गर्न थालेका छन् ।

क्षणिक लाभका लागि लगानी
नेपालमा अझै कुनै पनि व्यवसाय सञ्चालन गर्नुपूर्व राम्रोसँग अध्ययन गर्ने प्रणाली विकास भएको छैन । कुनै व्यवसायले राम्रो गरिरहेको छ भन्ने लाग्यो भने अर्को व्यक्तिले पनि त्यही व्यवसाय अँगाल्ने परिपाटी नेपालमा छ । यसरी विनाअध्ययन र लगानी गर्ने प्रक्रियासम्बन्धी पर्याप्त ज्ञानविना हतारिएर लगानी गर्दा व्यवसायबाट राम्रो प्रतिफल पाउन सकेको देखिँदैन ।

भूकम्पपछि पुनर्निर्माणका कामले तीव्रता पाउँदा नेपालमा फलामे छड उद्योगको संख्या बढ्न पुग्यो र एउटा निश्चित विन्दुपछि मागभन्दा उत्पादन धेरै हुन थाल्यो । तर, कोभिडपछि लगानीकर्ताहरू आफ्नो लगानी फिर्ता आउँछ कि आउँदन भनेर दोधारमा बसेका छन् ।

(पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठको यो विचार ‘नाफिज जर्नल’बाट लिइएको हो ।)