बैंकक, चैत २२ :

नेपाल र थाइल्यान्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज (शुक्रबार) बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्षबीच भएको भेटवार्तामा परिषद् गठनबारे छलफल भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलसहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाबीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो ।

यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीका लागि समर्पित प्लेटफर्मका रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुन संशोधन तथा परिमार्जन गरिएको साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूति गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक थप सहजीकरणका लागि महासंघले पहल गर्ने प्रतिबद्धतासमेत जाहेर गरे ।

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराउँदै नेपालमा थाई व्यवसायीहरुसँग संयुक्त रुपमा लगानी गर्न सकिनेसमेत बताए । उनले थाइल्यान्डको वाणिज्य चेम्बर र व्यापार बोर्डका सदस्यहरू र बृहत् थाई व्यापार समुदायलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न थाई व्यवसायीहरुलाई नेपालमा आमन्त्रणसमेत गरे । यस्तै ढकालले थाई सरकारलाई नेपालीका लागि अनअराइभल भिसा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि थाई चेम्बर अफ कमर्स बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह गरे ।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राखे । उनले नेपालमा गरिने लगानीको सहजताका लागि  महासंघले नेपाल सरकारसंग आवश्यक सहजीकरण गर्नेसमेत बताए ।

यसैबीच संयुक्त वाणिज्य परिषद (जेबीसी) को गठन तथा थप आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । यसका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्स इन थाइल्यान्डका अध्यक्ष विवेक लिज्यान्ड लिइरभागलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसअघि २०२४ अप्रिल २४ मा नेपाल-कतार संयुक्त वाणिज्य परिषद् गठन गर्ने सहमति भएको थियो भने सोही सहमतिअनुरुप प्रथम अध्यक्ष स्तरीय बैठक २०२४ को अक्टोबर २ मा कतारको राजधानीमा दोहामा सम्पन्न भएको थियो ।

त्यस अवसरमा थाई चेम्बर अफ कमर्स बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले महासंघका तर्फबाट व्यक्त धारणाहरुप्रति आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहको बताए । उनले नेपाली नागरिकका लागि अनअराइभल भिसा प्रक्रियाबारे पनि सरकारसँग पहल गर्ने बताए ।

त्यस अवसरमा महासंघको तर्फबाट उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ र कार्यसमिति सदस्य पशुपतिदेव पाण्डे तथा थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका  पदाधिकारीहरुको सहभागिता थियो ।

यसअघि प्रधानमन्त्री केपी ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राको उपस्थितिमा बुधबार बैंककमा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।