काठमाडौँ, चैत २६ :

काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । मंगलबार आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।

काठमाडौँको एक्यूआई २६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/ संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । 

उनीहरूले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले संयुक्त रुपमा सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबीच सहकार्य र समन्वयमा जोड दिएका हुन् ।

हरेक वर्षको सुक्खायाममा वन डढेलोलगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ । वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हरेक वर्ष नेपालीहरूको कूल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको जानकारी दिए । एक तथ्याङ्कअनुसार प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीको औसत आयु घटिरहेको छ ।

प्रदूषण घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल बन्दै गएको उनको भनाइ थियो । 

सरकारले प्रदूषण नियन्त्रणका लागि हरेक वर्ष तीन अर्ब बढी राजस्व सङ्कलन गरे पनि सो रकम यही शीर्षकमा खर्च हुन नसकेको प्रवक्ता बुढाथोकीले बताए । उनले भने, “सरोकारवाला निकायहरूले विज्ञप्ति जारी गर्दैमा समस्या समाधान हुँदैन, विगतमा बनेका योजनाहरू कागजमा सीमित छन् । अब कार्यान्वयनमा जोड दिनुपर्छ ।”

कार्यक्रममा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्यूनीकरण गर्न एक सम्बन्धित निकायबीच आरोप/ प्रत्यारोप लगाउनु भन्दा आ- आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने बताए । प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, सवारी प्रदूषण परीक्षण गर्ने गरेको उनले जानकारी दिए ।

सवारी प्रदूषण परीक्षणका लागि छुट्टै सवारी पार्किङ क्षेत्र र स्रोतसाधन आवश्यक रहेको उनले बताए । परीक्षणमा ५० प्रतिशत बढी सवारीसाधन मापदण्ड विपरित पाइएको र सरकारी सवारीसाधन परीक्षणमा अनुत्तीर्ण हुने गरेको बताए ।

कार्यक्रममा वायु गुणस्तर विज्ञ डा भूपेन्द्र दासले अहिलेको मुख्य समस्या वन डढेलो, खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहर जलाउँदा प्रदूषण बढेको  बताए । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन ।” उनले भने ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यही ८ चैतदेखि हरेक दिन काठमाडौँ र मुलुकका अन्य भेगको प्रदूषण निरन्तर बढिरहेको छ । “नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिलसम्म प्रदूषण बढ्ने गर्छ, यसमा अन्तरदेशीय कारण पनि छन्,” इमिमोडका वायु गुणस्तर विज्ञ डा खुस्बु शर्माले भने, “प्रदूषण बढ्नु घट्नुमा वायुको प्रभाव पनि रहन्छ ।”