काठमाडौं, वैशाख ८ :


‘यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?’ यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ ।

नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ । यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ । एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्थ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको भन्न खोजिएको भने होइन ।

अब चाँडो नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा मौसमी महामारीको जोखिम पनि बढ्दै गइरहेको छ । विगतका अनुभवहरुका आधारमा सम्भावित महामारीको विश्लेषण यहाँ गर्न खोजिएको हो ।

डेङ्गु
केही दिनअगाडि समकक्षीहरुसँग बसिरहेको बेला लामखुट्टे अघिपछि गरिरहेको थियो । मनसुन भित्रिसकेको त छैन तर लामखुट्टे सक्रिय हुनु केही अस्वाभाविक तर बढी चिन्ताको विषय भने पक्कै मान्नु पर्दछ । स्मरण रहोस्, सन् २०१९ मा धरानमा डेङ्गु अचानक फैलँदा नेपालमा मनसुन प्रवेश गरिसकेको अवस्था थिएन । अर्थात् त्यो बेला बेमौसमी झरी पर्दा लामखुट्टेको अस्वाभाविक वृद्धि अनि एकपछि अर्को जिल्ला हुँदै डेङ्गु अन्तत्वोगत्वा काठमाडौँसम्म आइपुग्दा काठमाडौँवासीले पहिलोपटक डेङ्गुको ठुलो चुनौतीको सामना गर्नु परेको थियो ।

आधिकारिक तथ्याङ्कलाई हेर्ने हो भने हाल केही वर्षयता लगभग १२ महिनाजसो डेङ्गु देखिन थालेको छ  । ठुलो र लामो महामारीको रुप लिने हो भने मनसुन सुरु भएदेखि नै डेङ्गु फैलन थाल्ने गरेको अनि कुनै निश्चित ठाउँमा प्रकोपको रुप लिँदा भने ‘पोस्ट मनसुन’ अर्थात् दसैँ-तिहारपछि डेङ्गु देखिने गरेको मेरो अनुभव छ । सन् २०२२ मा डेङ्गुले काठमाडौँमा विनाशकारी महामारी निम्त्याएको थियो ।

यो सन् २०१९ पछि तीन वर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो महामारी थियो । नेपालको तथ्याङ्कलाई हेर्ने हो भने दुईदेखि तीन वर्षको अन्तरालमा डेङ्गुले प्रकोप/महामारीको स्वरुप लिने गरेको छ । प्रत्येक महामारीसँगै भाइरसको सङ्क्रामकता, आक्रमकता र जटिलता पनि बढ्दै गएको देखिन्छ । यसर्थ पनि अब काठमाडौँमा डेङ्गुले कुनै पनि समयमा नयाँ महामारीको लहर निम्त्याउन सक्ने प्रबल सम्भावनालाई नकार्न सकिँदैन । र, त्यो विगतको भन्दा अझ बृहत् नहोला भन्न सकिँदैन । तर, दुर्भाग्य नै भन्नुपर्छ कि हामीले अझ पनि डेङ्गु रोक्ने उपायहरुलाई गम्भीरताका साथ लिने वा नियन्त्रणका लागि पर्याप्त प्रयास गरेको भने देखिँदैन ।

स्क्रब टाइफस 
यो रोग ‘ओरिएनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारणले हुने गर्दछ । यो चिगर माइट नामक किर्नाको टोकाइका कारणबाट हुने कीटजन्य रोग हो । सन् २०१५ मा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसले भएको प्रमाणित भएपछि यसले नेपालमा विशेष चर्चा पाएको हो ।

कतिपयले २०७२ सालको भूकम्पले गर्दा यो रोग फैलिएको/देखिएको भने पनि यो ब्याक्टेरिया दुई दशकअगाडि नै नेपालमा देखिइसकेको अध्ययन-अनुसन्धानहरुले देखाएका छन् । तर, धरान घटनाअगाडिसम्म स्क्रब टाइफस नियमित परीक्षणमा समावेश नहुने हुँदा यसको अवस्थाका बारेमा सन् २०१५ अगाडि अनभिज्ञ नै देखिन्छ ।

नेपालमा बर्सेनि विशेष गरेर मनसुन ‘सिजन’मा स्क्रब टाइफसको सक्रियता बढी देखिने गरेको अस्पताल तथ्याङ्कहरुले देखाउँछन् । केहीको उपचारमा ढिलाइ हुँदा वा उपचारका क्रममा मृत्युसमेत हुने गरेको देखिन्छ ।