दिल्ली, वैशाख ९ :

दिल्ली उच्च अदालतले पतञ्जली आयुर्वेदका संस्थापक बाबा रामदेवद्वारा प्रयोग गरिएको ‘शरबत जिहाद’ शब्दप्रति कडा आपत्ति जनाएको छ । मंगलबारको सुनुवाइका क्रममा न्यायाधीश अमित बंसलले उक्त अभिव्यक्तिलाई माफी लायक नभएको बताए।

रामदेवले ३ अप्रिलमा पतञ्जलीको नयाँ शरबत उत्पादनको सार्वजनिक उद्घाटनको क्रममा दिएको अभिव्यक्तिबाट सुरु भएको विवादमा अदालतले कडा धारणा राखेको हो। उनले सामाजिक सञ्जाल  ट्विटर मार्फत भनेका थिए कि ‘एक कम्पनीले शरबत बनाउँछ, त्यो पैसाले मदरसा र मस्जिद बनाइन्छ। जस्तो लभ जिहाद र भोट जिहाद चलिरहेको छ, त्यसैगरी शरबत जिहाद पनि चलिरहेको छ।’

यसप्रकारको अभिव्यक्तिलाई लिएर भारतको चर्चित शरबत उत्पादक कम्पनी हमदर्दले अदालतमा रिट दर्ता गराएको थियो। कम्पनीका तर्फबाट वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले बहस गर्दै रामदेवको भनाइ धर्मकै नाममा आक्रमण भएको बताए।

अदालतको आदेशपछि बाबा रामदेवले धार्मिक टिप्पणी समावेश गरेका सबै भिडियो हटाउने बताएका छन्। साथै, अदालतले रामदेवलाई यस विषयमा शपथपत्र बुझाउन आदेश दिएको छ।यस मुद्दाको अर्को सुनुवाइ मे १ मा हुनेछ।