वैशाख १० :

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यही वैशाख १९ गते सार्वजनिक गरिने भएको छ। प्रतिनिधिसभाको क्यालेन्डर मस्यौदा अनुसार उक्त मिति तय गरिएको हो।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको प्रमुख सचेतकहरूसँगको छलफलपछि संसद सचिवालयले नीति तथा कार्यक्रमको मिति तय गरिएको जानकारी दिएको छ।

यससँगै सरकारको प्रस्तावअनुसार आगामी जेठ २ गतेदेखि प्रतिनिधि सभामा प्रि–बजेट छलफल सुरु हुने भएको छ। संसद्को कार्यतालिका मस्यौदा वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस गरिनेछ।

नीति तथा कार्यक्रम, बजेट तथा विद्यालय शिक्षा विधेयक लगायतका महत्वपूर्ण विषयहरूको चापका कारण सभामुख घिमिरेले शनिबार र सार्वजनिक बिदाबाहेक संसद् दैनिक सञ्चालन गर्ने प्रस्ताव पनि गरेका छन्।