
नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।
लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गएराति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।
२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुखसमेत थिए ।
नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डंगोल ०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमान्डरका रूपमा खटिएका थिए ।
उनको नाममा स्थापित ट्रस्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकु दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भीमसेन दास प्रधानले जानकारी दिए ।
उनको निधनप्रति नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुले दु:ख व्यक्त गरेका छन् ।