
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' रिसोर्टको बाथरुममा चिप्लिएर लडेका छन्। प्रारम्भमा घरको बाथरुममा लडेको भनिए पनि वास्तविकता भने फरक देखिएको छ।
प्रचण्ड गत राति ललितपुरको लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा परिवारका सदस्यहरूसहित बसेका थिए। त्यही क्रममा रिसोर्टको बाथरुममा चिप्लिएर लडेका हुन्। लडेपछि उनलाई तुरुन्तै मेडिसिटी अस्पताल पुर्याइएको थियो।
मेडिसिटीमा सामान्य स्वास्थ्य परीक्षण तथा उपचारपछि उनी राति नै घर फर्किएका छन्। उनको निधारमा सामान्य बाहिरी चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
यस घटनाबारे प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी थिइन्। उनले स्टाटसमा बाथरुममा चिप्लिएर निधारमा सामान्य चोट लागेको उल्लेख गरेकी थिइन्। तर, कहाँको बाथरुम भन्नेबारे खुलाइएको थिएन, जसले केही समयका लागि भ्रम सिर्जना गराएको थियो।
गंगाले लेखेकी छन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुबाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’ हाल प्रचण्डको अवस्था सामान्य रहेको परिवार स्रोतले जनाएको छ।