झापा, वैशाख २५ :

बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशपछि पनि विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पाँच महिनादेखि अस्पतालमै छन्।

घरमा घरेलु कामदारका रूपमा राखिएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा शिवाकोटी २०७८ मंसिर २४ मा पक्राउ परेका थिए। जिल्ला अदालत, झापाले पुस २२ मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उनी विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजको क्याबिनमा बसिरहेका छन्।

प्रहरीका अनुसार, स्वास्थ्य समस्याका कारण अदालतको आदेशअनुसार अस्पतालमै राखिएको हो। तर, पीडित पक्षले भने यति गम्भीर मुद्दामा पनि आरोपित जेल नभई अस्पतालमै बस्दा असुरक्षित महसुस भएको गुनासो गरेको छ।  शिवाकोटी २०७४ सालमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।