
अलिक अगाडिसम्म हरियो वन नेपालको धन भनेर चिनिन्थ्यो । नारा वा भनाई भएपनि खासै धनको रुपमा सदुपयोग भएको थिएन । तर, अहिले हामीले एउटा संकल्प लिएका छौं । नेपालको वन एकपटक झन्डैझन्डै विनाश होला कि जस्तो गरी ओरालो लागेको थियो । त्यसलाई हामीले फेरि पुर्नविचार गर्यौं, यसका संरक्षणका उपायहरु के के हुनसक्छन् भनेर । निकुञ्ज, आरक्ष, वन क्षेत्र, कवुलीयत वन, सामुदायिक वन, निजी कुनकुन माध्यमबाट कसरी वन क्षेत्रको सदुपयोग गर्न सकिन्छ भनेर । हामीले गर्नु पर्ने चार/पाँचवटा काम छन् । हामीले वन क्षेत्रको संरक्षण गर्नुछ, त्यसभित्र क्षेत्रगत विस्तारको हाम्रो अभियान यति नै हो । योभन्दा बढी क्षेत्रगत विस्तार हामी गर्न सक्दैनौं किनभने उत्पादनतर्फ पनि हामीले ध्यान दिनुपर्छ, मान्छे पाल्नु र पालिनु पनि पर्छ । त्यसकारण हाम्रोजस्तो देशलाई वन ४६ प्रतिशत काफी ठूलो कुरा हो । जहाँ ४६ प्रतिशत वन क्षेत्र छ, १७ प्रतिशत हिमाली भेग छ । यसै पनि ६३ भइसक्यो । तालतलैया, नदीनाला छंदै छन् । त्यसले पनि अलिक लिन्छ । त्यसले गर्दा लगभग ३० प्रतिशत जमिन मात्रै उत्पादनका लागि बाँकी रह्यो । राम्रा जमिन भएका ठाउँहरु, हाम्राजस्ता जमिन भएका ठाउँहरु, उर्वर ठाउँहरु अरुकोमा पनि ३० प्रतिशत मात्रै संरक्षण गरेका छन् । हामीले उनीहरुको भन्दा डेढ अलिकति अगाडि बढाएका छौं । युरोप लगायतले ३० प्रतिशत बनाएका छन् । हामी गर्व गर्दछौं कि हामी प्राकृतिक र जीवनमय देशमा जन्मिएका छौं र हुर्किएका छौं । प्राकृतिकपनको र यो प्रकृतिले जुन जीवनयापनलाई देखाएको छ, यसमा गौरव पनि गर्दछौं र खुसी हुन्छौं । यसले हाम्रो आफ्नो देशका लागि मात्रै होइन, विश्वका लागि पनि योगदान गरेको छ । यस कुरामा गर्व गर्दछौं । यसकारण वनको महत्त्व हामीले बुझेका छौं । बुझेअनुसार नै वन संरक्षण गर्दछौं ।
आज हामीले सम्वर्द्धनका लागि दोस्रो राष्ट्रिय गोष्ठी आयोजना गरेका छौं । मैले अघि भनेँ, सम्वर्द्धन भनेको वन सघनीकरण हो । जहाँ वन पातलो छ वा वन क्षेत्र मात्रै भनिएको छ-वन छैन, वन क्षेत्र भनिएको छ-बुट्यान मात्रै छ, वन क्षेत्र भनिएको छ-त्यो वन क्षेत्रजस्तै छैन र बोटबिरुवा छैनन् । अथवा वन क्षेत्र भनिएको छ, त्यहाँ जस्तो वन हुनसक्थ्यो, त्यो छैन । त्यहाँ कताकति बोटबिरुवाहरु छन् । यस्तो सबै वनलाई हामीले सघन वनमा रुपान्तरित गर्न सक्नु पर्दछ । आजको एउटा वन सम्वर्द्धनको कुरा यही हो ।
अघि वन उपभोक्ता महासंघको अध्यक्षले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारी सर्पट समाप्त पार्ने नीति रोकेर दीगो वन विकासको नीति ल्याइएकोले राम्रो भयो । ताली बजाउनुस्भन्दा वनमा काम नगर्ने तीन जनाले ताली बजाउनु भयो । राज्यमन्त्रीजीले बोल्दा भन्नुभयो, विज्ञान सबैका लागि हुन्छ, सबैका लागि विज्ञान उत्तिकै सत्य हुन्छ । एकदम जायज कुरा भन्नुभयो । ताली बेस्सरी लगाउनुभयो । ताली किन लगाउनु भयोभन्दा यो वैज्ञानिक वन व्यवस्थापनलाई समर्थन हो भन्ने बुझेर । गल्ती नगर्नु होला, वैज्ञानिक वन व्यवस्थापनलाई समर्थन गरेको होइन, विज्ञान सबैका लागि र गर्ने विज्ञान सम्मत नै हो । वनको सुरक्षा विज्ञान सम्मत नै हुने हो तर वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी ‘स्टप’ गरिन्छ । यो सरकारको एकदम ‘सुदृढ’ नीति हो । यसमा कुनै भ्रम नपर्नु होला । ताली नबजाएपनि केही फरक पर्दैन हुन्छ । मैले सरकारको नीति भन्दिन्छु, सखुवाको जंगल, सालघारी सर्पट नापीलाई कडाइका साथ रोकिएको छ र रोकिने छ । त्यति बेलाको वन सचिव पनि यही हुनुहुन्छ, मैले त्यस बेला पनि उहाँहरुलाई भनेको थिएँ । यो रोकिन्छ र रोक्नु पर्छ ।
हामीसँग सालघारी हुनु भनेको ठूलो कुरा हो । सालघारी हामीसँग हुनु भनेको प्रकृतिको अनुपम वरदान हो । विश्वमा थोरै देशहरुमा मात्रै सालघारी हुन्छ । नेपाल, भारत, बंगलादेश र केही देशमा मात्रै सालघारी हुन्छ । धेरै देशमा सालघारी पाइँदैन । पानी पार्नका लागि, मौसम ठीक गर्नका लागि अग्ला रुखहरु चाहिन्छ, बुट्यानले वर्षा गराउन सक्दैन । अग्ला रुख चाहिन्छ, सालघारी भनेको अग्लो हुन्छ, दीगो हुन्छ । त्यसका अनेक पक्षका वैज्ञानिक कारण छन्, जुन कारणले सालको उत्पत्ति भएको छ, त्यसको वैज्ञानिक कारण हामीले बुझ्नु पर्दछ ।
अर्को, साल यस्तो स्वतन्त्र वनस्पती हो, यहाँ लगाउँछु भनेर तपाईंले जबरजस्ती गरेर मान्दैन । यो धुपी सल्लोजस्तो होइन, धुपी सल्लो लेकमा लगेर लगाए पनि हुने, औलोमा लगाए पनि हुन्छ, गमलामा लगाए पनि हुन्छ, डाँडामा र खोल्सामा गए पनि हुन्छ तर साल त्यस्तो होइन । साल भनेको एकदम स्वतन्त्र, मनले चाहे उम्रिन्छ, मनले चाहे बढ्छ, मनले नचाहे त्यो ठाउँ छोड्दिन्छ, यो मेरा लागि उपयुक्त ठाउँ होइन भनेर । यो कुरालाई हामीले बुझ्नु पर्छ, यत्तिकै क्षणिक लाभका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय उत्तरदायित्व, वनस्पतीय र वातावरण सन्तुलनजस्ता पक्षहरु बिर्सिन सक्दैनौं र बिर्सिन मिल्दैन । वैज्ञानिक ढंगले नै गर्ने हो, तर दीगो वन व्यवस्थापन गर्ने हो ।
वैज्ञानिक वन व्यवस्थापन गलत होइन, वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट समाप्ति गलत हो, त्यो कुरा भनेको हो । म सालघारीमा सानादेखि हुर्किएर, सानादेखि बसेर, कहिले साल छिप्पियो, कहिले काट्नु पर्छ, कहिले साल धोद्रो पर्छ, सालघारीबाट वैज्ञानिक वन व्यवस्थापन कसरी हुनसक्छभन्दा सालघारीबाट उमेर पुगेको रुख तपाईंहरु चिन्नुहुन्छ, म पनि चिन्छु । अब योभन्दा बढी रह्यो भने धोद्रो पस्छ, त्यो मलाई थाहा छ । सालघारी कति उमेरमा धोद्रो पर्छ, कस्तो देखिएपछि धोद्रो पर्छ, कस्तोसम्म यो बढ्छ, कस्तोपछि बढ्दैन, बढ्दै जान्छ, बाराको भीमसखुवा सबै हुँदैनन्, त्योभन्दा कोही साना पनि हुन्छन् । तसर्थ, यसमा कुनै भ्रम हामीले राख्नु हुँदैन, सालघारी हामीले बचाउनु पर्छ । र, त्यसबाट लडापडा निकाल्ने होइन, इमानदारीताका साथ काम गर्नु पर्छ, उमेर पुगेको साल निकाल्नु पर्छ । अनि मात्रै सालबाट लाभ लिनसक्छौं ।
अघि यहाँ फोटो देखाउनुभएको थियो, सबै धोद्रो परेका थिए । एक उमेरमा सालको भित्र अग्राख हुन्छ । त्यसलाई अग्राख भनिन्छ, त्यो सबैभन्दा मजबुत हुन्छ । एक उमेरपछि सबैभन्दा पहिले किरा लागेर त्यसैलाई खाएर धोद्रो बनाउँछ । फेरि त्यसभन्दा बाहिरको अलिक पलास र बाहिरको बोक्रो, जो सबैभन्दा कमजोर हुन्छ, त्यो बाँकी नै रहेको हुन्छ, जो खास अग्राख हुन्छ, जो सखुवा हुन्छ, त्यो चाहिँ समाप्त हुन्छ । त्यसकारण अग्राख र साल समाप्त हुन नदिन हामीले उपयुक्त समयमा उमेर पुग्ने बित्तिकै सालको रुख निकाल्नु र काट्नु पर्छ । त्यसलाई व्यापारिक, औधोगिक, घरेलु व्यवसायिक आदि प्रयोगमा लगाउनु पर्दछ । त्यसबाट लाभ लिनु पर्छ । वनको सदुपयोग गरौंभन्दा धोद्रा रुख भए पनि राखिराखौं, आफैँ हावाले लड्न दिउ होइन । यस्ता पनि वन जंगल हुन्छन् । हामीले केही क्षेत्रहरु राख्नु पर्दछ । आरक्ष र निकुञ्जभित्र पनि त्यस्ता रुखहरु राख्नु पर्दछ, जहाँ सबै प्रकारका जीवजन्तुहरु बाँच्न पाउन्, धमिराको पनि यही पृथ्वी हो, यही धर्ती हो, यही प्रकृति हो । तिनले पनि खान र बाँच्न पाउनु पर्दछ । केही केही ठाउँहरु छोड्नु पर्दछ, साल होउन् वा अरु, त्यहाँभित्र केही पनि चलाउने नै होइन । वनस्पती, जीव केही पनि चलाउने होइन, त्यसलाई जस्ताको तस्तै छोड्दिनु पर्छ । रियल वन, साच्चैको वन छोड्नु पर्छ । अब हामी प्राकृतिक वन त्यतिकै सबै छोड्दिन सक्छौं त ? होइन । त्यसलाई मान्छे पसेर फाँड्न नदिने काम गर्नुपर्छ । त्यस्तो वनबाट हाँगा निकाल्ने होइन, त्यो जस्ताको तस्तै जे स्वरुपमा बढ्छ, हुर्किन्छ, टिक्छ, ढल्छ, त्यसलाई प्राकृतिक ढंगमा छोड्दिनुपर्छ, त्यसको नियमअन्तर्गत ।
आमरुपमा वनबाट लाभ लिनु पर्दछ । त्यसको लाभ भनेको एकढंगले इकोसिस्टमका लागि जरुरी हुन्छ । सबै जीवहरुको इकोसिस्टम हुन्छ । त्यस प्रकारका वनका समाप्तिले कतिपय हामीले नदेखेका जीवहरुको जीवन र अस्तित्व संकटमा परेको हुन्छ । त्यसकारण त्यसको पनि अर्थ हुन्छ, जो हामीले अध्ययन गरिनसकेको, हामीले बुझिनसकेको, हामीले अध्ययन गर्न बाँकी रहेको, हामीले बुझ्न बाँकी रहेका ठाउँहरु पनि हुन्छन् । त्यसकारण हामीले त्यसलाई त्यस्तै छोड्नुपर्छ ।
हामीले वनबाट लाभ लिनुपर्दछ । कुन रुख कहिले काट्ने, कहिले लगाउने, कतिनजेल हुर्किन दिने, हतार गर्नु हुँदैन, ढिलो गर्नु हुँदैन । यसमा हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनु पर्छ । ठेकदारले नाफा लिन खोज्ला । वन रक्षकहरुको काम हुन्छ, ठेकदारलाई उचित ढंगको कामबाट मात्रै नाफा लिन दिने । नाफा बिना ठेकदारले काम गर्दैनन् तर अनुचित ढंगको नाफा दिनु हुँदैन । त्यसमा नो कम्प्रमाइजको नीति लिनुपर्छ । त्यसो भएर यो वन सम्वर्द्धन र संरक्षणको पाटो हो ।
अघि मैले भनेँ, ४६ प्रतिशत भनेको काफी हो । मैले अस्ति नै एउटा कार्यक्रममा बोलेँ-अब बाघको संख्या विस्तार हामीलाई पुग्यो । बाघको संख्या अब बढाउँदै जाने हो भने मान्छे भागे हुन्छ, अब बाघको संख्या बढाउन सकिंदैन र मिल्दैन भनेको थिएँ । त्यसमा धेरैवटा कुरा आयो, बा तपाईंका सबै कुरा मन पर्थे, यो बाघको संख्या बढाउनु हुँदैन भनेको चाहिँ...त्यो बुझ्दै नबुझ्दै केटाकेटीहरुले कमेन्ट लेख्दिए ।
यो बाघ फोटामा हेर्दा बडा गज्जवको हुन्छ, सामुन्ने पर्यो भने ! फोटाको बाघ हेरेर कुरा गरेर हुँदैन । बाघ भनेको एउटा क्षेत्रपति जात हो । उसले आफ्नो सीमाना र क्षेत्र लगाउँछ । उसलाई क्षेत्र पुगेन भने बाघहरुका बीचमा लडाइँ हुने र मारामार हुने अवस्था बन्छ । जब उसलाई आफ्नो क्षेत्र पुग्दैन र बाघ धेरै भएपछि खाना पुग्दैन । खाना नपुगेपछि खानाको खोजीमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्किनु पर्छ । बाहिर निस्किएको बेला, भोक लागेका बेला जे भेट्यायो त्यहीमाथि हमला गर्छ । बाघले कानुनको किताब पढेको हुँदैन । भ्रम राख्नु हुँदैन, मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद भन्ने बाघलाई थाहा छैन । बाघले पढेको त छैन नि ! नङ्ग्रा छन्, दाह्रा छन् र बल छ । यी तीनवटा कुरा उसँग छन्, अनि भोक लागेको छ, बस ! त्यसकारण बाघ कुनै खेलाची गर्ने चिज होइन । हामीले इकोसिस्टमका लागि, प्रकृति संरक्षणका लागि बाघको संरक्षण गर्नुपर्दछ ।
सालघारीको फँडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री ओली
कोपनहेगनमा भएको नवौं वा दशौं सम्मेलनमा १० वर्षमा दोब्बर गर्छौ भनेर दुनियाँले भनेका थिए, अरुले कहाँ दोब्बर बनाए ? हामीले दोब्बर गर्ने भन्यौं, सन् २०१० बाट सन् २०१८ मा पुग्दा दोब्बर होइन, त्योभन्दा बढी भइसके, अहिले तीन सय पचपन्न भइसके । अहिले जंगलमा होइन, गाउँमा हिंड्दा बाघ भेटिएला भन्ने डर भइसक्यो । यो पिरमर्का वनका छेउमा बस्नेहरुलाई थाहा छ । त्यसकारण यति सानो कुरामा पनि विरोध नै गर्नका लागि विरोध भनेर भावनात्मक कुरा गरेर, प्रकृति विरोधी कुरा गर्यो, वातावरण विरोधी कुरा गर्यो भन्ने ? वातावरण विरोधी कुरा होइन । वातावरणको सन्तुलन चाहिन्छ भने यो मानव जातिका लागि चाहिन्छ । वातावरण विनाश भइरहेको छ- मानवबाट, वातावरण संरक्षण गर्नु पर्नेछ-मानवले । यो सबै मानव जातिका लागि गर्नु परेको छ । यस धर्तीको, यस सृष्टिको, यस सिर्जनाको, यस ब्रहमाण्डको सबैभन्दा उत्कृष्ट प्राणी मानव हो । यही एउटा प्लानेट छ, यही एउटा ग्रह छ, पृथ्वी, यही एउटा सौर्यमण्डल छ । जहाँ जीव छ र जीवको अस्तित्व छ । यस्ता सौर्यमण्डलहरु कति हो कति, सूर्यहरु हजारौ लाखौं कति छन्, थाहा छैन । कति मिल्कीवेए छन्, थाहा छैन । तर, यही एउटा मात्रै सौर्यमण्डल हो, जहाँ यस्तो ग्रह छ-पृथ्वी, जहाँ जीवन छ । पृथ्वी मात्रै यस ब्रहमाण्डको यस्तो भाग्यमानी ग्रह हो- जहाँ जीवन छ । यसले मात्रै जीवन सिर्जना गरेको छ र मानवजस्तो श्रेष्ठ जीव सिर्जना गर्न सकेको छ । यो पृथ्वीले मात्रै गरेको छ । पृथ्वी धन्य छन् कि यसकारण यहाँ मानव सृष्टि भएको छ, यहाँ मानव बसोवास गर्दछन् ।
मानव भएन भने चिसा पिण्डहरुको, जीव भएन भने चिसा पिण्डहरुको के अर्थ ? आज कति गते भनेर सोध्नै पर्दैन, मान्छे छैन भने । गते किन चाहियो ? के महिना हो भनेर किन चाहियो ? कति राम्रो झरना किन चाहियो ? ताल परोस् कि झरना के मतलब ! कति मिठो धुन किन चाहियो ? कसले बुझ्छ धुन मान्छे भएन भने ? कति राम्रो सुन्दरता वाह ! अब मान्छे छैन भने के को सुन्दरता ? फूलहरु घाँस हुन्छन् । त्यही पनि अरु जीव भए हो घाँस हुने । केही पनि जीव छैन भने ढुंगा माटो मात्रै । यो सबै मानव जातिलाई चाहियो । यो बुझ्नु पर्दछ । मानव जाति छ र यो ब्रहमाण्ड सार्थक भएको छ । यही सार्थकतालाई कायम राख्न आज हामी वातावरणीय प्रश्नमा चिन्तित छौं । मानवको भविष्यका लागि चिन्तित छौं, पृथ्वीको भविष्यका लागि चिन्तित छौं । यो सुन्दर निलो, हरियो पृथ्वी दीर्घजीवी हुनुपर्दछ । यसको आयू त अब त्यस्तै तीन/चार अर्ब वर्ष होला, अरु कुनै पिण्डले हान्दिए भने । दुई पटक पृथ्वी जलिसक्यो । फेरि कुनै पिण्ड आएर यसमाथि प्रहार गर्यो भने फेरि भन्न सकिन्न कति बेर चल्छ । हामी त्यस्तो अवस्थामा छौं र यो आफ्नो खालको प्राकृतिकपन छ । त्यसमा बतासिएर उडिराखेका कति अन्तरीक्षका पिण्डहरु छन् । त्यता अहिले नजाऔं ।
वन र वातावरणको संरक्षण किन चाहियो, इकोसिस्टम किन चाहियो ? मैले यस सवालमा भनेको मानव जातिका लागि चाहियो, यस धर्तीको सार्थकता, यस सौर्यमण्डलको सार्थकता, यस ग्यालेक्सीको सार्थकता र यस ब्रहमाण्डको सार्थकताका लागि हो । हामीले बिरुवामा पानी किन हाल्यौं ? यस बिरुवामा पानी हाल्नुको अर्थ, यो बिरुवाको मात्रै प्रश्न होइन, ब्रहमाण्डको सार्थकताको प्रश्न हो । यस महान् कार्यमा हामी जुटिरहेका छौं भने हामीले सानातिना कुराहरुलाई छोड्दिनु पर्दछ र महान् उद्देश्यमा केन्द्रित हुनुपर्दछ ।
वयश्क र हुर्किदा सालका रुखहरु काट्न बन्द गर्नुस् । एकदमै अनिवार्य रुपमा नगरी नहुने विकासका कार्यहरुलाई ध्यानमा राखेर केही काटिनु पर्ने हुन्छ । सन्तुलन भनेकै त्यही हो । विकास र वातावरणमा सन्तुलन, अरु कुरामा सन्तुलन तर वन क्षेत्रमै सालघारी फडनी ! यस्तो वैज्ञानिक वन व्यवस्थापन त पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले २०३६ एकपटक गरिसकेका हुन् । गज्जबले गरेका हुन् । सालघारी फाँडेर, मान्छे बसाएर उधुम गरेका हुन् । त्यसकारण वैज्ञानिक नामले झुक्किनु हुँदैन । प्रश्न विज्ञानको विरोध हो र ? विज्ञानको विरोध होइन । वैज्ञानिकताको विरोध हो र ? त्यस नाममा गरिएको सालघारीको फडानीको विरोध हो ।
सालघारीको फडानी हुनु हुँदैन र रोकिनु पर्छ । उपभोक्ता वनका मान्छेहरुले ताली बजाउनु भयो, डिएफओसाव्हरुले ताली बजाउनु भएन । नभनेको भए पनि हुन्थ्यो तर कुरा किन लुकाइरहनु ? फेरि पनि म भन्छु, यो गल्ती गर्नु हुँदैन । सालघारी सर्पट फडानीको गल्ती गर्नु हुँदैन । यसको साँच्चै ढंगले वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गर्नुपर्दछ, फडानी होइन । म फेरि पनि दोर्याउन चाहन्छु, मन्त्रीज्यू वन नीति यही हो, राज्यमन्त्रीज्यू वन नीति यही हो । यही नीति अन्तर्गत अगाडि बढ्नु पर्दछ ।
मैले अघि नै भनिसकें, अब वन क्षेत्र धेरै विस्तार गर्न सकिंदैन । त्यसकारण सघन वनतर्फ जाऔं ।
ग्रामीण क्षेत्रका छेउका खाली जमिनहरु, जो वन क्षेत्रमा पर्छन्, किसानहरुको समूह बनाएर कृषि वन लगाऔं । आँपघारी लगाइदियो भने, फलफूलका बगैंचा लगाइदियो भने त्यसमा पनि भरसक ठूला रुख हुने फलफूलका बिरुवा लगाऔं । बिजु आँप लगायो भने अलिक पाँच वर्षपछि फल्ला तर ठूलो रुख हुन्छ र सय वर्ष मज्जाले जान्छ । कलमीभन्दा बिजु आँपमा ध्यान दिऔं । त्यसको स्वाद पनि मिठो हुन्छ, त्यो सय वर्ष कमसेकम टिक्छ, सय वर्ष आँप टिक्छ भन्ने कुरा साथीहरुलाई थाहा होला, राणा शासनका बेला राणाका बगैंचामा रोपिएका आँपहरु अहिले पनि छंदै छन्, सिंहदरवारमा राणा शासनमा रोपिएका आँपहरु अहिले पनि मज्जाले फलिराखेका छन्, अरु विभिन्न दरबारमा रोपिराखेका आँपहरु अहिले पनि मज्जाले फलिराखेका छन् । तर, ती कलमे होइनन्, बिजु हुन् । यसो गर्न सकिन्छ ।
हामीले किसानहरुसँग मिलेर, जनतासँग मिलेर वनका उपभोक्ता बनायौं । त्यो उपभोक्ग त भइहाल्छ तर वास्तवमा तिनीहरु संरक्षण समिति हुन् । जनस्तरका संरक्षण समिति, तिनीहरुले उपभोगभन्दा बढी संरक्षण गरेका छन् । त्यसो भएर यो संरक्षणको पाटो भयो । सघनताको पाटो भयो, यो संरक्षणभित्र पर्छ ।
हामीले विविधताको कुरा जबरजस्ती गर्ने होइन, हावापानीअनुसार वन क्षेत्र भनेर हामीले वनमा मात्रै ध्यान दिनु पर्ने छैन । हामीले किसानसँग मिलेर हामीले स्याउ खेतीहरु टन्न लगाउन सक्छौं, आँप खेतीहरु टन्नै लगाउन सक्छौं, उनीहरुकै बारीमा । हामीलाई चाहिएको हरियो, परियो वन क्षेत्र होइन र ? उनीहरुलाई बगैंचा लगाउन प्रेरित गर्यौं भने त्यसले हामीलाई कृषिको अधिकृत र वनका अधिकृत मिलेर ग्रामीण क्षेत्रलाई फलफूलमय बनाउँदा र जहाँ बढी हेरविचार गरिरहन सकिंदैन, त्यहाँ बढी फलफूल लगाऔं । फलफूलले धानले जस्तो, मकैले जस्तो, गहुँले जस्तो धेरै हेरचाह पनि खोज्दैन । त्यसले सुख्खायाममा पानी हाल्यो कि हालेन भनेर याद पनि गर्दैैन । त्यसकारण यी कुराहरुलाई हामीले सँगसँगै मिलाएर संयुक्त रुपमा गर्न सक्छौं ।
हामीले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिन्छ । त्यहाँ वन मात्रै हुनुपर्छ भन्ने छैन । वनले आफ्नो क्षेत्रभन्दा बाहिरपट्टि हेर्नै नहुने ! हामीले राजनीतिमा के भन्छौं साथीहरुलाई जिस्काउँदा, माननीयहरुलाई जिस्काउँदा भन्दा हिंड्दै जाँदा आफ्नो क्षेत्र यतापट्टि रहेछ, यतापट्टिका मान्छेलाई फर्किएर उमेदवारले नमस्कार है भनेर भनिहाल्यो भने त्यता हाम्रो क्षेत्र होइन सर, यता हो भनेपछि यता फर्किएर नमस्कार गर्छ । हामी त्यसरी जिस्काउँछौं । त्यसै त गर्दैनौं तर जिस्काउँदा क्षेत्रवादी त्यति हुन्छन् भनेर जिस्काएको नि, क्षेत्रका लागि लाग्छन् भनेर ।
हामीले देश विकास गर्ने हो । त्यसकारण एकअर्कालाई सहयोग गर्ने हो, क्षेत्रवादी हुने होइन । वन क्षेत्र भनेपछि कृषिसँग सहकार्य गर्नै नहुने होइन । स्याउ बगैंचा लगाऔं, लेकाली भेगमा जहाँ स्याउ हुन्छ, त्यहाँ लगाऔं । स्याउ नहुने खालका ठाउँहरुमा जैतुन लगाऔं । त्यो यस्तो चिज हो कि गज्जब हुन्छ । गर्मीमा पनि हुन्छ, चिसोमा पनि हुन्छ । पशुमा भेडा र जैतुन उस्तैउस्तै हो । यो गर्मीमा पनि फल्छ, जाडोमा पनि फल्छ र लेकाली भेगमा पनि फल्छ । त्यसकारण जैतुन लगाऔं । यसका मल्टि बेनिफिटका बारेमा मैले भनिरहनु परेन ।
वालीको विविधता भनेको जस्तै वनको विविधता कि स्वभाविक ढंगले हामीले कसरी कुन ठाउँमा संरक्षण गर्ने, कसरी लगाउने, यी लगाउने कुरा हुन् । यी वन सरह हुन्छन् । कृषि पनि हुन्छ र वन पनि हुन्छ । लेकाली भेगका रुखहरु तिनीहरुको संरक्षण गर्न सकिन्छ, कतिपय रोप्न र फैलाउन मिल्नेखालका हुन्छन् । त्यसमा जोड गरौं ।
अग्ला रुखहरुले वर्षा गर्छन्, होचा रुखले गर्दैनन्, मैले अघि नै भनेँ । वन क्षेत्रमा अग्ला रुखहरुको धेरै महत्त्व छ । त्यसकारण सानाभन्दा अग्ला हुने प्रजातिका रुखहरु खास वन क्षेत्रमा लगाइदिँदा बढी वातावरणीय सकारात्मक अनुकूल प्रभाव पर्छ । त्यसले जमिनलाई टाढाटाढासम्म शीतल बनाउन मद्दत पुग्छ, त्यसको छायाँले पनि शीतल बनाउन मद्दत पुग्छ र जमिन तात्ने र ग्लोबल वार्मिङका कुराहरुलाई त्यसले रोकेको हुन्छ ।
किसानहरुलाई पशुपालनको क्षेत्रमा पनि प्रोत्साहित गरौं । जसले नवीकरणीय वन दिन्छ । हाम्रा चौरीहरु माथि गएर चर्छन्, भेडाहरु चर्छन् । चौरी र भेडाहरुको खुरले कुल्चिएर गोडेको जस्तो हुन्छ, ती जीवहरु त्यहाँ चर्न बनेका जीवहरु हुन् । त्यसकारण तिनीहरुले कुल्चिएर बिग्रिने होइन, त्यहाँ त मल हाल्न जान्छन् । आफ्नो ढंगले गोड्न जान्छन् । आज कुल्चिन्छन्, भोलि कुल्चिन्छन् र तिनीहरुले फरक पारिराखेका हुन्छन् । बाहिरको मललाई भित्र घुसाउने काम गर्छन् खुरहरुले ।
त्यसकारण त्यसको बेग्लै महत्त्व छ । त्यसकारण चरिचरणको पनि विस्तार र संरक्षण गरौं । त्यस्ता प्रकारका घाँसहरु कसरी लगाउन सकिन्छ, त्यो गरौं । पशुपालनमा किसानहरुलाई पनि मोटिभेट गरौं र हाम्रा वनका अधिकृतहरुले कृषिका अधिकृतहरुलाई पनि साथै लिने र सहकार्य गर्ने काम गरौं । त्यसो गर्दा यसले वन र कृषिको वास्तवमा इकोसिस्टम हुन्छ ।
दुनियाँ वातावरणका लागि बडो चिन्तित भएको छ । केही केही देशहरुमा त्यो चिन्ता देखिंदैन । पेरिस एग्रिमेन्ट नमान्ने, पटक पटक पेरिस एग्रिमेन्टबाट बाहिर जाने, वातावरणससँग सम्बन्धी प्रश्नमा लगानी नगर्नेजस्ता कुराहरु देखिन्छन् । यो कुराले के हुन्छ भन्ने कुरा उहाँहरुले पनि भोलि गएर बुझ्नु हुनेछ ।
विश्व सहकार्य, वातावरणसम्बन्धी पेरिस एग्रिमेन्ट र विश्व सहकार्यको महत्त्व आज बुझिएन भने भोलि बुझ्न ढिला भइसकेको हुन्छ । त्यसैकारण हामीले ढिलो नगरिकन सगरमाथा संवाद सुरु गरेका छौं र यसपटक माउन्टेन र इकोनोमी, मानव जातिको भविष्यलाई हामीले एजेण्डा बनाएका छौं । यो अर्को हाम्रो हिमालको कुरासँग सम्बन्धित छ ।
अर्को हामीले के देख्न र थाहा पाउन पर्यो भने वन लगाउँदा आगोको संक्रमणको गतिलाई कसरी रोक्न सकिन्छ, संक्रमण कसरी रोक्न सकिन्छ, उपयुक्त ढंगले फायरलाइनहरु विस्तार र पातै नझर्ने रुख लगाउन सकिंदैन । थुप्रै रुखहरु यस्ता हुन्छन्, जो पात नझर्ने रुख भनिन्छ, पात त झर्छ तर एउटा एउटा झर्छ, सिजनअनुसार झर्दैन । सुख्खा सिजनमा एकैचोटी पात झर्ने थुप्रै बिरुवाहरु छन् । आमरुपमा त्यो हुन्छ, युरोपमा पनि हुन्छ, अन्यत्र पनि हुन्छ । सबै रुखका सबै पातहरु झरेका हुन्छन्, खासगरी चिसोयाममा । त्यसबाट प्रभावित नहुनेखालका बोटबिरुवा रोप्यो भने आगलागी कम हुन्छ । आगलागी रोक्न सक्यौं भने प्रदूषण कम हुन्छ । काठमाडौंको प्रदूषण र नेपालको प्रदूषण आगलीबाट हो । दुईवटा कुरा मात्रै हो प्रदूषणको । हामी कार्वन प्रदूषणको र फसिल फ्युलको कुरा गरिराखेका छौं । अस्ति त्यसले स्वास फेर्न कठीन हुनेखालको, आँखा पोल्नेखालको वातावरण बनिसकेको थियो । प्रदूषण यति बाक्लो थियो कि कहिले हेलिकोप्टर उड्न सक्दैन । हेलिकप्टर मात्रै होइन, प्लेन उड्न नसक्ने अवस्था बन्छ । किनभने आगलागीबाट आएका ससाना पार्टिकल्स हुन्छ, त्यहाँ धुवाको मात्रै कुरा होइन । खरानीका ससाना पार्टिकल्ससमेत आउँछ र त्यो इन्जिनमा लाग्छ । त्यसकारण जब अत्यन्त पार्टिकल्सहरुले भरिएको हुन्छ । त्यति बेला हेलिकप्टर, प्लेन उड्न सक्दैन । गाडी चलाउन पनि खतरा हुन्छ । आकासबाट नखसिने भएको हुनाले मान्छेले गाडी चलाउँदा वास्ता गर्दैन् तर गाडीको इन्जिनलाई पनि त्यसले नोक्सान गर्छ । बिग्रिहालेछ भने बनाउला, खसिने त होइन । त्यसकारण मान्छेले चलाइराख्छन् तर खतरा हुन्छ ।
जब वनमा आगलागी हुन्छ, तब नेपालभरी धुवा, धुलो र खरानी, त्यो मात्रै होइन जल्दै गरेका र जलिसकेका, माथि गएपछि जल्न नसकेर निभेका ती पार्टिकल्स नै उडिराखेका हुन्छन् । इराकदेखि इरानदेखि पाकिस्तानदेखि भारतदेखि भारतका विभिन्न प्रान्तहरुको यही बाटो हो खरानी र हावा आउने । त्यो जबसम्म हाम्रो उत्तरबाट दक्षिण पूर्वतिर फैलिएको हिमालमा टक्राउँदैन र ठोकिंदैन, तबसम्म त्यो बग्दै आएको हुन्छ । त्यो ठोकिने कहाँभन्दा हाम्रा हिमालमा हो । त्यसमा एसिडीक र सल्टीक हुन्छ । पार्टिकल्सको, धुवा पिरो हुन्छ । एसिडीक हुन्छ र खरानी आफैँ नुनिलो सल्टी हुन्छ । त्यसो भएपछि हिमालमा हिउँ रोकिन र अडिन सक्दैन । हिमालमा हिउँ नअडिनका कारण त्यसको पार्टिकल्सले हो । त्यसकारण यो दुईवटा कुरा र गहुँको छ्वाली डढाउने कामलाई हामीले रोक्नुपर्छ ।
गहुँको छ्वाली डढाउने काम रोक्न सकिन्छ । त्यसका निम्ति अलिकति जनचेतना जगाउने काम गर्नु पर्दछ । यसका निम्ति हामीले रिजनल र सवरिजनल प्रयासहरुलाई संयुक्त रुपमा लानु पर्दछ । त्यसो गर्यौं भने हामीले वातावरणलाई बनाउन सक्छौं । अब कार्वन यसै यहाँ उत्सर्जन भइराखेको छ । त्यसो भएर हामीले कार्वन उत्सर्जन गर्ने होइन । हाम्रै वातावरण बिग्रिएको, विश्वको वातावरण बिग्रिएको होइन । हाम्रो वातावरण बिग्रिने कुरामा हाम्रो वनजंगलको विनाश र आगलागीबाट हुने विनाश हो । आगलागी र गहुँको छ्वाली लगायतका कुरा ठूलो परिणाममा बाल्ने कुरा र ठूला परिणामा डरलाग्दो प्रदूषण हुन्छ । काठमाडौं उपत्यको खाल्डो कचौरामा आएर त्यो परेपछि महिनौ निस्किन मान्दैन । काठमाडौंको समस्या त्यही हो । स्वास फेर्न लायक नहुने काठमाडौंमा यिनै दुईवटा कारणले हो, अरु कारणलेभन्दा पनि । अघिपछि पनि गाडी चलेका हुन्छन्, कहाँ त्यस्तो बनिराखेको हुन्छ, त्यस्तो बनिराखेको छैन । हामी विस्तारै इभीमा जाँदैछौं । अब पेट्रोल र डिजेलबाट चल्ने सवारी साधानको आयात र विक्री कम हुँदैछ । हामी इभीतिर गइराखेका छौं र त्यसको संख्या बढ्दै छ । त्यो स्वभाविक हो । हामी अब छिटोछिटो क्लिन, ग्रिन, रिनोवयल इनर्जीको वृद्धिमा जाँदैछौं, यसको उत्पादन वृद्धि गर्दैछौं र फोसिल फ्युललाई विस्थापित गर्दैछौं । त्यसकारण यतापट्टिको समस्या हामी छिट्टै समाधान गर्न खोजिराखेका छौं । तर, छ्वाली हामीले जलाइराख्यौ र वनको डढेलो रोक्ने उपाय गरेनौं भने वातावरण बिग्रिराख्छ । त्यसकारण म साथीहरुलाई आग्रह के गर्न चाहन्छु भने, बिरुवा लगाउने कुरा मात्रै होइन, डढेलो लाग्न नदिने कुरामा पनि वनमा क्रियाशील साथीहरुले यसमा ध्यान दिन जरुरी छ । डढेलो लाग्न नपाओस् र लागिहाल्यो भने कसरी नियन्त्रण गर्ने र प्रभावकारी रुपमा कसरी नियन्त्रण गर्ने भन्ने कुरा गर्ने । फायरलाइनको बन्दोवस्तदेखि अरु प्रकारका बिरुवाहरु रोपेर ती चिजहरु हामी गरौं । कस्ता कस्ता उपायहरु हुन सक्छन्, त्यो गरौं । कसरी ठाउँलाई चिस्यान बनाउन सकिन्छ, विभिन्न ठाउँमा पोखरीहरुको निर्माण लगायतका आदि कुराहरुले ती ठाउँमा रिचार्ज सिस्टमलाई एकदमै लोकल्ली रिचार्ज सिस्टमलाई बढायौं भने त्यसले पनि चिस्यान बढाउने र आगलागी र डढेलो कम गर्ने काममा मद्दत पुग्छ । यस्ता कामहरु गरौं ।
कतिपय जीवजन्तुहरु त्यस्ता पोखरीहरुका बीचबीचमा गएर पनि बाँच्छन् । पक्षीहरु डुबिहाल्दैनन् । त्यसकारण आगो लागेर रुखमै डढ्नेभन्दा त्यसभित्र पस्ने कामहरु गर्न सक्छन् ।
अर्को कुरा हामीले यस्तो पनि गर्न सकिन्छ कि पोखरीलाई एउटा कुण्डल आकारको बनाइदिने र बाहिरबाट पस्ने ठाउँ पनि हुने ताँकी जीवजन्तु त्यहाँको आइल्याण्डमा गएर बस्न सकून्, वरिपरी पोखरी हुन सकोस् । यस्तो खालको जीवजन्तुका लागि पनि हुनसक्ने पोखरीहरु निर्माण गर्नेजस्ता खालका कामहरु पनि हामी गर्न सक्छौं । यसले वातावरणको संरक्षण गर्छ । अहिले हामीले आइसोलेटेड फर्ममा यी कुरा गरिराखेका छैनौं ।
अझै पनि हामी थोरै दाउराको प्रयोग गर्दैछौं । दाउराबाट उत्सर्जन भएको कार्वन कुनै उल्लेखनीय नै हुँदैन । दुई तीनवटा स-साना दाउरा जोडेर सानो कसौडी बसाएर दुई तीनजनाको खाना घरमा बनाएको भरमा वातावरण बिग्रियो भन्ने कुरा केही पनि होइन ।
साँच्चैको कार्वन उत्सर्जक देशहरुले, फोसिल फ्युलको अत्यन्तै उत्पादन गर्ने देशहरुले अथवा ठूल्ठूला उद्योगहरुमार्फत् केमिकल फोर्टिलाइजरजस्ता कुराहरुमा, उद्योगमा कोइलाहरुको प्रयोगदेखि लिएर चिम्नी लगाएर धुवा फ्याक्ने, अलिकति माथितिर लगेर फ्याकेर के हुन्छ ? के त्यसलाई माथि हामी हाईवे बनाइदिन्छौं ? चिम्नीबाट माथितिर मात्रै निकाल्दिने न हो । त्यसपछि त्यो कहाँ जान्छ, अन्तरीक्षमा ? यही त घुम्ने हो नि । त्यसकारण यो भरपर्दो कुरा होइन । त्यही अलिकति आसपासलाई असर कम गर्यो भन्ने मात्रै हो । अलिक परतिर त्यसको केही पनि फरक पर्दैन । यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ ।
वातावरणसँग जोडिएको, वातावरणीय विविधतासँग जोडिएको, वनस्पतीय विविधतासँग जोडिएको, जैविक विविधतासँग पनि जोडिएको र इकोसिस्टमसँग जोडिएको छ । जैविक विविधता भनेको इकोसिस्टमसँग जोडिएको वनको विषय हो । त्यसकारण वन क्षेत्र हाम्रो पर्याप्त छ र हामी ब्राजिलजस्तो ठूलो आकारको देश होइनौं । ब्राजिलको जनसंख्या धेरै छ तर त्यहाँको क्षेत्रफलको तुलनामा जनसंख्या अत्यन्त कम छ । ब्राजिलको एउटै जंगल, त्यसमा अरु पनि १५ वटा देश जंगलका छेउछाउमा जोडिएका छन् । तर एउटै जंगल नेपालभन्दा ३८ गुणा ठूलो छ । अमेजन रेनफरेष्ट सिंगै नेपालभन्दा ३८ गुणा ठूलो छ । ५५ लाख स्क्वायर किलोमिटर होला । नेपाल डेढ लाखभन्दा अलिक कम होला । ५५ लाख स्क्वायर किलोमिटर भनेको नेपालभन्दा लगभग ३८ गुणा ठूलो हुन्छ होला । नेपालभन्दा ३८ गुणा ठूलो छ । त्यसले विश्वको वातावरणलाई महान् योगदान गरेको छ । त्यसैकारण त्यसलाई युरोपको फोक्सो भनिन्छ । कतिवटा देशमा वनजंगल लगाउनु भनेको गर्वको विषय बनेको छ । एउटा बिरुवा र रुखको फेदमा पाइप लगेर पानी, त्यो पनि वरिपरीको पानी ल्याएर हालौं भन्ने हो भने नुनिलो पानी छ, हाल्नेबित्तिकै बिरुवा मर्छ, त्यसकारण स्वीट वाटर कहाँबाट ल्याउने समस्या । माटो कहाँबाट ल्याउने ? अर्को देशबाट माटो किनेर ल्याएर, अर्को देशबाट बिरुवा किनेर ल्याएर, अर्को ढंगले प्रशोधित पानी त्यसको बोटमा हालेर बचाउनु पर्ने ठाउँहरु छन् । हाम्रोमा वञ्चरो र आरा लिएर पसेन भने आफैँ जंगल हुन्छ । पहिला झार पलाउँछ, त्यसपछि सानासाना बोटबिरुवा पलाउँछ, त्यसपछि अलिक ठूला रुख पलाउँछ, त्यसपछि झन् ठूला रुख पलाउँछ र वनजंगल हुन्छ । वन हुर्किने विधि नै त्यही हो । तसर्थ, वन लगाउने कुरामा धेरै चिन्ता गर्नु पर्दैन तर किन वन क्षेत्रमा वन हुँदैनभन्दा पशु लगेर छोड्दिएको हुन्छ, उम्रिनेबित्तिकै खाइदिएको हुन्छ, कहाँबाट त्यो वन क्षेत्र हुनसक्छ । यसर्थ वन क्षेत्रको संरक्षण गरौं, वन अतिक्रमण हुन नदिऔं, पहिले नै कसैले वन क्षेत्रमा लगेर एउटा छाप्रो बनाएको छ भने त्यति बेलै त्यहाँ छाप्रो बनाउन मिल्दैन, यो वन हो भन्ने । यहीं वरिपरी हेरौं, वन क्षेत्रमा खनेर खत्तम पारेको छ । वन क्षेत्रमा कित्ताकाट गरेर घडेरी बनाएका छन् । साथीहरुले नागुर्जनको फेदमा हेर्नुभएको छ कि छैन ? के त्यहाँ वन क्षेत्र मासिएको छैन ? आवादी कहिले भयो, त्यहाँ पुस्तौनी भयो ? पुस्तौनी धनीपूर्जा छ ? अस्ति गएर मालपोतमा पैसा खुवाएर निकालेको धनीपूर्जा होइन ? अब यस्ता कुराको पनि हामी व्यवस्थापन नगरेर ! यस्ता कुराहरुलाई हामीले व्यवस्थापन गर्नुपर्छ । वन क्षेत्रको अतिक्रमण गर्न नदिऔं, वन क्षेत्र संरक्षण गरौं । वन संरक्षित भयो भने अनि सम्वर्द्धन गर्न सकिन्छ । वन क्षेत्रको संरक्षण नै गर्न सकेनौं भने सम्वर्द्धन कसरी गर्ने ? त्यसकारण संरक्षण गरौं र सम्वर्द्धन गरौं । तपाईंहरुले आज र भोलिको दुई दिने गोष्ठी राख्नुभएको छ । छलफल गर्नुस् र राम्रा निष्कर्षहरु निकाल्नुस् । मैले तपाईंहरुका छलफल र निष्कर्षमा पुग्नका लागि केही कुराहरु मात्रै यहाँ उठाएको छु ।
अब तराईभरी धान खेती गर्न छोडेर वन क्षेत्र विस्तार गर्ने हो र ? अब क्षेत्र विस्तार गर्ने होइन । ४६ प्रतिशत वन क्षेत्र, हामीले खाली डाँडाकाँडा उब्जनी नहुने ठाउँमा मात्रै होइन, बकाइदा फटायल, प्लेन ल्यान्डहरुमा हामीले वन क्षेत्र बनाएका छौं । त्यो हाम्रो त्याग छ । तसर्थ, हामीले दुनियाँसँग भन्नुपर्दछ, यो वातावरण विनाशको कम्पनसेसनको हामी दावी गरिराखेका छौं । गतवर्ष मैले संयुक्त राष्ट्रसंघमा उठाएको कुरा पनि त्यही हो, कम्पनसेसनको । हामीले त्यो कम्पनशेसन पाउनु पर्छ । यो कार्बन ट्रेड मात्रै होइन, यसबापत हामीले बकाइदा वातावरणीय, इन्भायोरेमेन्टल फाइनान्स, क्लाइमेट फाइनान्सका कुरा गरिराखेका छौं । कार्बन ट्रेडको कुरा मात्रै हो क्लाइमेक्स फाइनान्स भनेको ? हाम्रो कन्ट्रिब्युसन सुड वि रिकगनाइज, इभ्यालुटेड । हाम्रो क्षति अरुले गराएकामा हामीलाई कम्पयानसेसन तिर्नुपर्दछ । विश्वमा क्षति गरेकोमा र हाम्रोमा क्षति गराएकामा कम्पयानशेसन दिनु पर्दछ । यी कुराहरु हामीले उठाइराखेका छौं ।
अब दुई दिन छलफल गर्न तपाईंहरु बुँदाहरु बोकेर, नोटहरु बनाएर, आफ्ना तर्कहरुमा धार लगाएरै आउनुभएको छ । त्यसो भएर मैले धेरै केही भनिरहनु पर्दैन । तपाईंहरुले छलफल गरेर राम्रा निष्कर्ष निकाल्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । ती निष्कर्षहरुले सरकारलाई आफ्ना धारणाहरु अझ खदिंला बनाउन, तपाईंहरु त्यो क्षेत्रमा काम गर्दै हुनुहुन्छ र त्यो क्षेत्रका विशेषज्ञतायुक्त अवधारणाहरुको मन्थनबाट निस्किएका परिपक्क सुझावहरु सरकारले प्राप्त गर्न सक्दछ । तपाईंहरु आफैँ सरकार हो, यी तपाईंहरुका क्षेत्रका कुराहरु हुन् । त्यसकारण तपाईंहरुले महत्त्वपूर्ण कुरा निकाल्नु हुने छ । नीति निर्माणको ठाउँले पनि तपाईंहरुका यी सुझावहरुबाट, यस गोष्ठिका निष्कर्षहरुबाट ठूलो लाभ लिने अवसर पाउँछ भन्ने मैले विश्वास लिएको छु ।
अर्को के ठान्नु हुँदैन भने, तपाईंहरु यस क्षेत्रमा काम गर्नु हुन्छ, त्यसकारण तपाईंहरुको अवधारणामा कुनै त्रुटि नै हुँदैन भन्न सकिंदैन । कहिले कहिले मान्छेलाई आफ्नो स्वार्थले पनि त्रुटि गराइदिन्छ, कहिले कहिले बुझाइमा त्रुटि पनि विभिन्न कारणले आउन सक्छन् । त्यसकारण त्यस्ता त्रुटिहरुबाट हामी माथि उठ्नु पर्छ भन्ने म सबैलाई अनुरोध गर्न चाहन्छु ।
हामीले यति बेला देश बनाउने कुरामा लागेनौं भने नेपालजस्तो उर्वर देश, यस्ता गौरवमय पूर्खाका सन्तान हामी, यति पौरखी नेपाली, यस्तो देश गरिब भयो कसरी ? यहाँ खनिज नै खनिज छ तर गरिब भयो कसरी ? अचम्म त के भने यो देशलाई आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभइ भएन, हामी आउँछौं साथ देउ भन्न लाज नै मान्दैनन् । यो देश कंगाल बनाउने यिनीहरु हुन् त । अहिले यी ३० वर्षमा यति विकास गरेको छ, त्यो कुरा तथ्यतथ्याङ्क, डाटा र आँकडाले बताउँछ । मान्छे नहुँदा जंगलमा मुलुक थियो होला, त्यसपछि के भयो ? त्यसो भएर हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ र देशलाई बस्न लायकको बनाउनु पर्छ । वातावरणी प्रश्नले हेर्नुस् त हिमाल छन्, पहाड छन् । यस्तो स्वच्छ र यस्तो पवित्र वनहरु भएको र धार्मिक क्षेत्र भएको ठाउँ छ । यो त देवभूमि भनिने ठाउँ हो । यस्तो अक्सिजन नै अक्सिजन भएको ठाउँ, स्वास फेर्न हामीलाई गाह्रो हेर्नुस् त, निमोनिया लाग्छ । यस्तो देशमा फोक्साको बिरामी । कहाँबाट आयो नेपालमा फोक्साको बिरामी ? अब यसलाई ट्रिटमेन्ट गर्ने जेनेरेशन, अहिले जो बाँचिरहेका छौं, हाम्रो काम यसको ट्रिटमेन्ट गरेर हामी छंदाछंदै एकदमै शुद्ध, पवित्र, स्वच्छ, स्वस्थ, विकसित देश बनाउने, जहाँ हामी सुखले बाँच्न सक्छौं, हाम्रा सन्ततीलाई सुखको जिन्दगी र सुरक्षित जिन्दगी छोड्न सक्छौं । त्यसको हामी ग्यारेन्टी गर्न सक्छौं र त्यो काम आज हामीले गर्नु छ । यसका निम्ति गोष्ठि र सम्मेलन उपयोगी हुन सकोस्, मेरो धेरैधेरै शुभकामना छ । मलाई यहाँ बोलाउनु भयो, विचार राख्ने मौका मिल्यो, खुसी व्यक्त गर्छु ।
-प्रधानमन्त्री केपी ओलीले दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीका अवसरमा २७ वैशाख, २०८२ मा व्यक्त गरेको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार सामग्री