गाजापट्टी, जेठ ४ :

इजरायलले गाजापट्टीमा गएरातिदेखि आज बिहानसम्म गरेको भीषण आक्रमणमा कम्तीमा १ सय ३ जनाको मृत्यु भएको छ । इजरायलले १९ महिना अघिदेखि यस क्षेत्रमा युद्धलाई तीव्र बनाएको छ । तत्काल कम हुने कुनै सङ्केत देखाएको छैन ।

दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ ।

मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताए । उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा भएको आक्रमणमा एउटै परिवारका नौ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ ।

हमासद्वारा सञ्चालित सरकारअन्तर्गत सञ्चालित नागरिक सुरक्षाका अनुसार जबालियामा रहेको परिवारको निवासमा भएको अर्को आक्रमणमा सात बालबालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले रातभरि भएका आक्रमणहरूबारे तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायलले आफ्नो कारबाहीबाट हुने नागरिक हताहतीको दोष हमासलाई नै दिने गरेको छ ।

इजरायलले गाजामा आफ्नो युद्धलाई ‘गिदियनको रथ’ नामक नयाँ आक्रमणका साथ बढाएको छ । यसमा इजरायलले क्षेत्र कब्जा गर्ने, लाखौँ प्यालेस्टिनीलाई गाजाको दक्षिणमा विस्थापित गर्ने र सहायताको वितरणमा बढी नियन्त्रण लिने योजना बनाएको बताएको छ ।