
नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सिर्जनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ । चलचित्र टिमले बुधबार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा गरेको छ । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दै छ ।
चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘एक्स जेनेरेसन बाउ’ र ‘जी जेनेरेसन छोरा’ भनेर चित्रण गरिएको छ । जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।
नेपाली समाजमा बढ्दो पुस्तागत टकराव र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।
यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो । जसले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’ को थप विवरण, कलाकार चयन, छायांकन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ ।
चलचित्रका कार्यकारी निर्माता शंकर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।