
रौतहट, जेठ २२ :
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले बेठीक काम नगरेको दाबी गरेका छन् ।
रौतहटमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले नेपाली जनता स्वस्थ रहून् भन्ने सोचले मात्र पतञ्जलिलाई जग्गा दिने निर्णय गरेको हुँ, कुनै अनियमितता गरेकै छैन।’ पतञ्जलिलाई दिएको जग्गा प्रकरणमा आफू निर्दोष रहेको उनको दाबी छ। उनले भने, ‘यदि अनियमितता भएको हो भने त्यो कर्मचारी तहबाट हुन सक्छ।’
‘कसैले लुपहोल्स राखेको भए मेरो ध्यान त्यतातिर गएको थिएन,’ नेता नेपालले स्पष्ट पारे, ‘मैले बदमासी कहिल्यै गरेको छैन, त्यसैले मुद्दा दर्ता हुँदैमा डराउने अवस्था छैन ।’ उनले काठमाडौँ फर्किएपछि कानुनी सल्लाह लिएर थप धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए ।