अर्घाखाँची, भदौ २३ :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ।

निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित कार्यक्रममा उहाँले कर्मचारीले सेवाग्राहीलाई कानुनको गाँठो पारेर जनताको कामलाई आलटाल नगर्न आग्रह गर्नुभयो। 

यदि कहीँकतै कानुनको गाँठो परेको छ भने त्यो गाँठोलाई कसरी फुकाउन सकिन्छ त्यसको निकास दिने कुरामा जान जरुरी रहेको उहाँको भनाई थियो।

निकास खोज्ने भन्दा कामलाई बल्झाउने तिर कर्मचारी जाने तलदेखि माथिसम्मको परिपाटी रहेको भन्दै मन्त्री आचार्यले यसको अन्त्य हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

उहाँले सरकारले छिट्टै विभिन्न तहमा एक हजार नौ सय नयाँ कर्मचारीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षदेखि लागू हुने पनि बताउनुभयो ।