बाँके, भदौ २६ :

बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्‌लाइटिसको बिरामी फेला परेको छ ।

नरैनापुर- १ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका  बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिनुभयो । 

उहाँले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’ मा उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले पनि भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर- १ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज  इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताउनुभयो । 

ती बालिकालाई जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ ।  

उहाँले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।
 
चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । 

उक्त भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताउनुभयो ।