
म्याग्दीको बेनी नगरपालिका- ९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो ।
अदालतको आदेश अनुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गर्भवती मिनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरू विरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालय मार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार माग दाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो ।
आठ महिनादेखि बेपत्ता रही गत २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरी अनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालय मार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।
वि. सं २०८० पुस १६ गतेबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जङ्गलमा गङ्गटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।