
बागलुङ मसानघाट अतिक्रमण हुन थालेपछी दाहसंस्कारमा समस्या हुन थालेको छ ।
धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।
कालीगण्डकी नदी सहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोला लगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो आउन थालेको हो ।
खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजो आज कतै खेत र कतै घर तथा भवन बन्न थालेपछी दाहसंस्कार गर्न समस्या आउँदै गएको हो ।
पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेपछि समस्या आउन थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।
कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले र व्यक्तिगत संरचनाले गर्दा मासिएको उहाँको भनाई छ ।
नगरपालिकाले अतिक्रमण रोक्नका लागि निरन्तर प्रयास गरिरहेका हाल विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।