गोरखा, भदौ २७ :
गोरखाको सहिद लखन गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहजताका लागि चिकित्सक सहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो।
पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको हो ।
पालिका भित्रका दुई सय ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो।
परिचयपत्र नभएका थप नौ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने दुई सय २४ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ।