गोरखा, भदौ २९ :

गोरखाको धार्चे गाउँपालिका- ५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहत स्वरुप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गरिने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

पहिरोमा ज्यान गुमाएका मध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ । 

गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो ।