काठमाडौं, साउन १५ :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।

काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकमहिने रक्तदान अभियानको बिहीबार शुभारम्भ गर्दै उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए । उनले पहाडमा जमिनहरु खाली हुने, खेती नगर्ने तर युवाहरु काम भएन भनेर विदेश जाने क्रम बढेको बताए । उनीहरुलाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने पोखरेलको भनाइ छ ।

नेपालमा जनसंख्याको ठुलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताए । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको उनले बताए । नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने पनि पोखरेलले बताए ।

उनले कुनै पनि मुलुकलाई समृद्ध बनाउन महत्त्वपूर्ण माध्यम कृषि रहेको उल्लेख गरे । कृषिको विकासले नै समृद्धिको आधारशीला निर्माण गर्ने जिकिर गरे । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रलगायत सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक रहेको पोखरेलले बताए । बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्ने बताए ।

‘अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्छ । कुनै पनि मुलुकलाई समृद्ध बनाउने हो भने कृषि महत्त्वपूर्ण माध्यम हो,’ उनले भने, ‘कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको विकास ति सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक छ । बहुसंख्यक जनसंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न सकिएन भने नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्छ ।’

महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने दाबी गरे । मानिसको जीवन निर्वाहका लागि अन्न अनिवार्य रहेको उनले बताए । राष्ट्र निर्माणमा युवालाई जोड्न जरुरी रहेको भन्दै महासचिव पोखरेलले मधेस प्रदेश सुक्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको दाबी गरे ।