काठमाडौं, साउन १६ :

सवारीसाधन सञ्चालन अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि अब १० वर्ष हुने भएको छ । यसअघि प्रत्येक ५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधानलाई सरकारले संशोधन गरेको हो ।

‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्,’ राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन् ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै सरकारले अब लाइसेन्सको अवधि १० वर्ष कायम गरेको हो । यसअघि सवारीसाधन चालकले ५ वर्षमा आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान थियो ।