
नेपाल मेडिकल काउन्सिलले लिएको स्नातकोत्तर तह (पीजी) को विशेष लाइसेन्स परीक्षामा ऐतिहासिक सफलता हासिल भएको छ। साउन १५ र १६ गते सञ्चालित उक्त परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । जुन हालसम्मकै उच्च दर मानिएको छ।
काउन्सिलका अनुसार यसपटक १,०७९ जनाले आवेदन दिएका थिए, जसमध्ये १,०७६ जना परीक्षामा सहभागी भए। सहभागीमध्ये ९८८ जना चिकित्सक उत्तीर्ण भएका छन् भने ८८ जना अनुत्तीर्ण भएका छन्। ४ जनाको नतिजा रोकिएको (वीथहोल्ड) अवस्थामा राखिएको छ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले यसपटकको नतिजा सम्भवतः ऐतिहासिक रेकर्ड भएको बताए। उनका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यो नतिजा ०.३७ प्रतिशतले बढी हो।
उक्त विशेष परीक्षा काठमाडौंको पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन गरिएको थियो। परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेपछि चिकित्सकहरूले विशेषज्ञ चिकित्सकको रूपमा कानुनी रूपमा सेवा दिन पाउने छन्। नेपाल मेडिकल काउन्सिलले हरेक वर्ष साउन महिनामा पीजी लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।