साउन २५ :

एक भारतीय उद्योगपतिको आकस्मिक मृत्युपछि देशको एक ठूलो अटोमोटिभ कम्पनीमा तीव्र उत्तराधिकारी विवाद चर्किएको छ ।

५३ वर्षीय सन्जय कपूरको १२ जुनमा बेलायतको सरेमा पोलो खेल्दा हृदयघातका कारण मृत्यु भएको थियो। उनी आफ्ना बाबुबाट प्राप्त ३.६ अर्ब डलर (२.७ अर्ब पाउन्ड) मूल्यको व्यवसायिक साम्राज्य सोना कमस्टारका उत्तराधिकारी थिए । भारतका शीर्ष अटो कम्पोनेन्ट निर्माता मध्ये पर्ने यस कम्पनीको भारत, चीन, मेक्सिको र अमेरिकामा गरी १० वटा कारखाना रहेका छन्।

पोलोका शौखिन कपूर दिल्लीका अभिजात सामाजिक कार्यमा पनि सक्रिय थिए ।  उनको प्रिन्स विलियमसँग पनि नजिकको मित्रता रहेको भनाइ छ। 
उनले तीन पटक विवाह गरे । पहिलो पटक डिजाइनर नन्दिता माहतानीसँग, त्यसपछि ९० को दशककी बलिउड अभिनेत्री करिश्मा कपूरसँग र २०१७ मा पूर्व मोडेल तथा उद्यमी प्रिया सचदेवसँग।

तर उनको मृत्युको केही हप्तापछि नै उत्तराधिकारीको प्रश्नले कपूर र उनको परिवारलाई मिडिया अटकलको केन्द्रमा पुर्‍याएको छ।यसको केन्द्रमा छन् सुन्जयकी आमा रानी कपूर जो सोना कमस्टारकी पूर्व अध्यक्ष हुन्।

२४ जुलाईमा रानी कपूरले कम्पनीको बोर्डलाई पत्र पठाउँदै छोराको मृत्यु र त्यसपछि भएका कम्पनीका नियुक्तिहरू बारे प्रश्न उठाइन्।पत्रमा उनले छोराको मृत्यु “अत्यन्त शंकास्पद र अस्पष्ट परिस्थितिमा” भएको दाबी गरेकी छिन्।

तर सरेस्थित कोरोनर अफिसले पोस्टमार्टमपछि मृत्युको कारण प्राकृतिक रहेको निष्कर्ष निकालेको र अनुसन्धान बन्द भएको जनाएको छ।रानी कपूरले छोराको मृत्युको शोकमा मानसिक र भावनात्मक तनावमा रहेका बेला आफूलाई दबाबमा राखी महत्त्वपूर्ण कागजातहरूमा हस्ताक्षर गराइएको दाबी पनि गरेकी छिन्।

“दुर्भाग्यवश, परिवार र म अझै शोकमा रहँदा केही व्यक्तिहरूले यसलाई पारिवारिक सम्पत्ति कब्जा गर्ने अवसरका रूपमा प्रयोग गरेका छन्,” उनले लेखिन्।
रानीले कम्पनीको वार्षिक साधारण सभा स्थगित गर्न पनि माग गरिन्, जसमा परिवारको प्रतिनिधि हुने नयाँ निर्देशकको चयन गर्ने तय भएको थियो।

तर २५ जुलाईमै साधारण सभा भयो र कम्पनीले सन्जयकी पत्नी प्रियालाई गैर-कार्यकारी निर्देशकमा नियुक्त गर्‍यो।पत्रमा रानीले २०१५ को वसीयत अनुसार आफू दिवंगत पतिका सम्पूर्ण सम्पत्तिकी एकमात्र लाभग्राही भएको र त्यसमा सोना समूहको बहुमत हिस्सेदारी समेत रहेको दाबी गरिन्।

तर कम्पनीले उनका दाबी अस्वीकार गर्दै २०१९ देखि उनको सोना कमस्टारसँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै भूमिका नरहेको जनाएको छ। कम्पनीले उनलाई “झूटो, दुष्प्रचारपूर्ण र हानिकारक” भनाइहरू रोक्न कानूनी नोटिस समेत पठाएको छ।

सोना कमस्टार सोना बीएलडब्ल्यूको ७१.९८ प्रतशत शेयर सार्वजनिक लगानीकर्ताहरू बैंक, म्युचुअल फण्ड, वित्तीय संस्थाहरूले होल्ड गरेका छन्। बाँकी २८.०२ प्रतिशत प्रमोटरहरूले ओरियस इनभेस्टमेन्ट्स प्रा.लि. मार्फत होल्ड गरेका छन्।

कम्पनीको कागजात अनुसार सुन्जय कपूर आरके फ्यामिली ट्रस्टका एकमात्र लाभग्राही थिए, जसले ओरियस इनभेस्टमेन्ट्समार्फत प्रमोटरहरूको हिस्सेदारी नियन्त्रण गर्छ।
भारतको सर्वोच्च अदालतका कानूनी विज्ञ तुषार कुमारका अनुसार, “अहिलेको कम्पनी संरचना हेर्दा रानी कपूर दर्ता भएका शेयरधनीमा पर्दिनन्, त्यसैले उनीसँग मतदान अधिकार छैन। तर ट्रस्ट र ओरियस इनभेस्टमेन्ट्समा उनको प्रत्यक्ष चासो छ कि छैन भन्ने कुरा सम्झौता सार्वजनिक नभएसम्म थाहा पाउन सकिँदैन।”

कपूर परिवारको यो विवाद कुनै एक्लो उदाहरण होइन। 

भारतका ९० प्रतिशत सूचीबद्ध कम्पनीहरू परिवारको नियन्त्रणमा छन् तर केवल ६३ प्रतिशतमा औपचारिक उत्तराधिकारी योजना रहेको पीडब्ल्यूसीको सर्वेक्षणले देखाएको छ।

विशेषज्ञहरूका अनुसार परिवारमा योग्यता भन्दा सम्बन्धको प्राथमिकता र स्पष्ट कानुनी व्यवस्था नहुनु विवादको मुख्य कारण हो।इतिहासमा अनगिन्ती परिवार व्यवसाय उत्तराधिकारी विवादका कारण खण्डित भएका छन् । जस्तै मुकेश र अनिल अम्बानीबीचको रिलायन्स साम्राज्य विवाद, रेमन्ड समूहमा भएको झगडा, तथा लोढा दाजुभाइबीचको विवाद।

कुनै पनि यस्तो विवादले अन्ततः कम्पनीलाई नै घाटा पुर्‍याउने, शेयर मूल्य घटाउने र भविष्यप्रतिको विश्वास कमजोर पार्ने विशेषज्ञहरूको भनाइ छ।

तर केही परिवारहरूले यसबाट सिकेका छन् । जस्तै बजाज समूहले अदालतको मध्यस्थतामा उत्तराधिकारी योजना बनाएर परिवारभित्रको जिम्मेवारी बाँडेका छन् र गदरेज समूहले गत वर्ष सौहार्दपूर्ण विभाजन गरेको घोषणा गरेको हो।

विशेषज्ञ सन्दीप नेरलेकरका अनुसार उत्तराधिकारी योजना र शक्तिशाली बोर्ड संरचना जरुरी छ। नयाँ पुस्तालाई समयमा नेतृत्व दिनु र अभिभावकले उनीहरूलाई तयारी गराउन समय दिनु पर्छ।

भारतीय धनाढ्य मुकेश अम्बानीले आफ्ना तीनै छोराछोरीलाई नेतृत्वका लागि पहिल्यै तयार गर्न थालेका उदाहरण पनि देखिन्छ ।
इन्डियन स्कुल अफ बिजनेसका काविल रामचन्द्रनका अनुसार उत्तराधिकारी योजना रातारात बन्न सक्दैन, परिवार र व्यवस्थापन दुवैलाई तयार पार्न लामो समय चाहिन्छ।

बीबीसी