काठमाडौं, भदौ १३ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७-१८ मा धनगढीमा आयोजना गरिने ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले सुदूरपश्चिम प्रदेश प्रकृतिको सौन्दर्यले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरुसमेत उपस्थित बैठकमा राणाले भनिन्, ‘सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सीमापार व्यापार, सहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको प्रशस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि आह्वान गर्दछु ।’

उनले जलस्रोत, उर्वर भूमि र नदीहरु, घना जंगल, अद्वितीय जैविक विविधता एवं सांस्कृतिक सम्पदाहरुको घरका रुपमा रहेको यस प्रदेश स्रोत र साधनले सम्पन्न भए पनि बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेकाले यी सम्भावनाहरुलाई अन्तर्राष्ट्रिय रुपमा उजागर गरी वैदेशिक लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलनको आयोजना हुनु खुसीको कुरा रहेको उनले बताइन् ।

राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने दाबी गरिन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटै सयममा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै यो क्षेत्र पनि काठमाडौंलगायत नेपालसँग जोडिन पुगेको दाबी गरिन् ।

उनले वर्तमान सरकार दिगो र स्थायी प्रकृतिको रहेकाले विकासका सम्भावनाहरुलाई पहिलेको तुलतामा थप उजागर गरिरहेको जानकारी दिइन् । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन गरेको स्पष्ट गरिन् । राणाले मुलुक संघीयतामा गएसँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि संघीय सरकारको मुख ताक्ने नभएर आफ्ना सम्भावनाहरुको खोजी आफैंले गरी विकासका मोडलहरु अघि बढाउनुपर्नेमा जोड दिइन् ।