काठमाडौं, भदौ १९ :

नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजदेखि क्रमशः बन्द गर्ने निर्णय गरेको छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको बैठकले यो निर्णय लिएको हो।

निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ। हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ मात्र सूचीकरण भइसकेका छन्।

टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन्। फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइन लगायतका प्रमुख प्लेटफर्महरू बन्द हुने जोखिममा छन्।

२०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै दर्ता आह्वान गरेको थियो तर बुधबार मध्यरातिसम्म औपचारिक निवेदन नपरेको जनाइएको छ।

२०८० मा स्वीकृत ‘सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका’ अनुसार नेपालमा सञ्चालन हुने सबै सञ्जालले सूचीकरण गरी अनुमतिपत्र लिनुपर्नेछ। निर्देशिकाले दर्ता नगरेका सञ्जाल जुनसुकै बेला बन्द गर्न सकिने व्यवस्था गरेको छ।