काठमाडौं, भदौ १९ :

सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।  

सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन नेपाल बिहीबार दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स (ट्विटर) जस्ता ठूला प्लेटफर्महरू क्रमशः बन्द गर्ने तयारी थालेको हो।

हालसम्म सूचीकृत भएका सामाजिक सञ्जालहरूमा टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ रहेका छन्। टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन्। ती बाहेकका सबै सामाजिक सञ्जालहरू अब निष्क्रिय पारिने मन्त्रालयले स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्न सरकारलाई कानुनी बाटो खोलिदिएको थियो । अदालतको आदेश अनुसार सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित सामग्रीको निगरानी र नियन्त्रण गर्न सूचीकरण आवश्यक ठहर गरिएको हो।

मन्त्रालयले २०७९ भदौ १२ गते सार्वजनिक सूचना प्रकाशन गर्दै सात दिनको अन्तिम म्याद दिएको थियो। तर भदौ १९ गते राति म्याद सकिँदासम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता कम्पनीहरूले दर्ताका लागि सम्पर्क नगरेको मन्त्रालयको भनाइ छ।