
ध्ये गाउँ
दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका- ५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ ।
गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो ।
जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँडेका उनीहरूका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो ।
उनीहरूले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ ।
पानी खोज्दै बसाइ सर्नेहरू बढेपछि ध्येको सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका- ५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिनुभयो ।
मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो । उहाँले आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाउनुभयो ।
खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो । हिउँदमा हिउँ कम पर्न थालेपछी मुहान सुकेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
अहिले स्थानीहरू बर्खामा भेडा च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन् । पानी पर्न छाडेपछि खेतीयोग्य जमिन खेती हुन छाडेको छ ।
ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो । अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ । पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए ।
सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । नयाँ बस्तीमा उनीहरुले स्याउखेती गरिरहेका छन् ।
तापक्रम वृद्धि र जलवायु परिवर्तनको सबैभन्दा बढी असर आफुहरुलाई परेको उहाँले बताउनुभयो ।