
धरानका मेयर हर्क साम्पाङले काठमाडौँबाट फर्किएपछि पत्रकार सम्मेलन गरेर आफूले आन्दोलनमा देखेको अनुभव सार्वजनिक गरेका छन् । उनले मन्त्री बन्ने नामहरू दूतावासमै तय हुने गरेको दाबी गर्दै आफूलाई त्यसैले अवसर नदिएको बताए।
साम्पाङका अनुसार जेनजी आन्दोलन सामाजिक सञ्जालको लहर मात्रै नभई गहिरो राजनीतिक योजना थियो। ‘म देशको लागि जोखिम मोलेर काठमाडौँ पुगेको थिएँ, तर त्यहाँ पहिले नै सबै सेट रहेछ,’ उनले भने।
आफू कुनै शक्तिकेन्द्रको गोटी नभएको स्पष्ट पार्दै उनले देश युवाले चलाउनु पर्ने आवश्यकता औंल्याए।‘बिकेर होइन, आँट गरेर देशको लागि हिँडेको हुँ,’ उनले भावुक हुँदै भने।
एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए । जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेको उनको भनाइ थियो ।
साम्पाङले अहिलेको व्यवस्थाले देशलाई विदेशी शक्तिकेन्द्रहरूको हातमा थुपारेको भन्दै समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई विकल्पका रूपमा प्रस्तुत गरे। साम्पाङले देशको समाधान प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट मात्रै हुने बताए ।