
युएईमा जारी युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै बिना विकेट गुमाई सहज रूपमा पूरा गर्यो। वेस्ट इन्डिजका ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन प्रहार गरे भने अर्का ओपनर अकिम अगस्टेले अविजित ४१ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमै अलआउट भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रनको योगदान दिए।
नेपालले पावरप्लेमा राम्रो सुरुवात गर्दै ६ ओभरमा ३७/० को स्थिति बनाएको थियो। तर त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदै नेपालले बाँकी ९० रन जोड्दा सम्पूर्ण विकेट गुमायो।
वेस्ट इन्डिजका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे। उनले ४ ओभरमा मात्र १५ रन खर्चिएर ४ विकेट लिए। जेदिया ब्लेड्सले २ विकेट तथा जेसन होल्डर र कप्तान अकिल होसेनले समान १/१ विकेट लिए।
यसअघि नेपालले शृंखलाको पहिलो दुई खेल जित्दै युनिटी कप टी–२०आई शृंखला आफ्नो नाममा गरिसकेको थियो। शृंखलामा नेपाल २–१ ले विजयी भएको छ।