
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ ।
सङ्घीय सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
आयोजनाको छ दशमलव दुई किलोमिटर लामो सुरुङ सम्पन्न भई ‘कङ्क्रिट’ ‘लाइनिङ’को काम तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कङ्क्रिट लाइनिङ गर्नुपर्नेछ । हालसम्म मुख्य सुरुङको एक किलोमिटर कङ्क्रिट लाइनिङ गरिएको आयोजनाको प्रवर्धक कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।
मुख्य सुरुङबाट विद्युत्गृह सम्म पानी पुर्याउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइप मध्ये एक सय ३० मिटर जडान गरिएको छ ।
विद्युत्गृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेका छन् । विद्युत् उत्पादनका लागि २०- २० मेगावाटका दुईवटा युनिट रहने आयोजना कार्यालयले जनाएको छ ।