भक्तपुर, असोज ६ :

यँया पुन्हीको अवसरमा आठ दिन मनाइने इन्द्रजात्रा अन्तर्गत भक्तपुरमा मुपात्र जात्रा सुरु भएको छ । 

प्रत्येक वर्षको असोज कृष्ण द्वितिया देखि चौथीसम्म तीन दिन मनाइने भक्तपुरको फरक मुपात्र अर्थात राक्षस जात्रा भक्तपुरमा सुरु भएको हो । यो जात्राको मुख्य आकर्षण मुपात्र राक्षस भएकाले यसलाई स्थानीयले राक्षस जात्राको रुपमा समेत लिने गरेका छन् । 

यो जात्रामा मुपात्रको रुपमा एक जना प्रमुख र धिःचा नामक अन्य दुई जना सहायक गरी तीन जना राक्षसको सहभागिता रहन्छ । तीनै जनालाई राक्षसको जस्तो पोसाक लगाइ अनुहारमा विभिन्न रङ्गको शृङ्गार पटारका साथ तरबार समात्न लगाइ भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन छ ।

नगर परिक्रमा गर्दा भक्तपुर नगरको टोलटोलमा ठड्याइ राखेको यमांद्यः मुपात्रलाई राक्षसले तीन पटक घुमेर तरवारले हानेको अभिनय गर्दछन् । 

यसको अर्थ इन्द्रजात्राको पहिलो दिन टोल टोलमा बाँधेर राखेका यमांद्यःलाई छुटाउन उसलाई बाँधेको डोरी काटेको भन्ने बुझिन्छ ।

मुपात्र जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धरले त्रिशुल आकारको दुई वटा या मताः (आकाश दीप) दत्तात्रयस्थित भिमसेन मन्दिर अघि बाल्ने र त्यसपछि तचपालस्थित सँला गणेशलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ ।