म्याग्दी, असोज ८ :

नेपाली हाते कागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।

नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका- ३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो एक सय सातका दरले लोक्ता बिक्री हुने बताउनुभयो ।

दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजना अनुसार १५ वर्षपछि खुला गरिएको छ ।

फुर्सदको समयमा जङ्गलको लोक्ता संकलन गरेर उपभोक्ताले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।

यसअघि मालिका- ३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनः सञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो । 

उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हाते कागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । 

माघदेखि वैशाख सम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताउनुभयो । 

कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उहाँले बताउनुभयो । 

बराहताल, बासराते लगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताउनुभयो ।