
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार परिसरबाट लिन सकिने छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गण रहेको स्थानमा निर्माण गरिएको ‘प्रिफ्याब’ भवनबाट स्वास्थ्य मन्त्रालयको सेवा प्राप्त गर्न सकिने छ ।
विश्व स्वास्थ्य सङ्गठनले करिब १० करोड खर्च गरेर बनाएका छ वटा ‘प्रिफ्याब’ भवनमा अस्थायी रूपमा तत्कालका लागि मन्त्रालय सारिएको छ । स्वास्थ्य मन्त्रालय सरेसँगै नेपाल सरकारका सबै केन्द्रिय मन्त्रालय सिंहदरबार परिसरभित्र रहने छन् ।
आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गरे।
यसअघि त्यहाँ रहेको सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि खाली जग्गामा प्रिफ्याब बनाइएको हो । विसं २०३० मा सिंहदरबार आगलागी भएपछि टेकु हुँदै रामशाहपथ सरेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि पुनः सिहदरबारभित्र सरेको छ ।
यसअघि गत भदौ २४ गते भवन पूर्ण रूपमा क्षति भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ ।
भवन हस्तान्तण कार्यक्रममा मन्त्री गौतमले जनस्वास्थ्य क्षेत्रका अतिरिक्त बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का घटनापछि मानवीय उपचार र उद्धारमा विश्व स्वास्थ्य सङ्गठनबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताइन् ।