
विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो ।
समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ ।
लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो।
लोमान्थाङ गाउँपालिका- ५ का वडा सदस्य लाक्पा वाङदी गुरुङले यो करिब छ सय वर्ष पुरानो बस्ती भएको बताउनुभयो ।
“यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हाम्रो दाबी छ”, उहाँले भन्नुभयो, “मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरूका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो ।”
दुई सयभन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ ।
दुई सय ८० मिटर उत्तर- दक्षिण र एक सय ६० मिटर पूर्व- पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ती पछि बसेको हो ।
लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा/मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ ।
वि. सं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषण गरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाउनुभयो ।
सन् २०२४ को सेप्टेम्बर २२ सम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो ।
वर्षको अन्तिम सम्म पर्यटक आगमनको सङ्ख्या तीन हजार नाघ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ ।
सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।
लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।