
नेकपा (एमाले) ले ११औँ महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाका लागि करिब ५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी गरेको छ । यसमध्ये ४० वर्षमुनिका युवाबाट १५ जना केन्द्रीय कमिटीमा समेटिने छन्, जुन कुल संख्याको ४.९८ प्रतिशत हो ।
पार्टी संरचनाअनुसार उपत्यकासहित ८ वटै प्रदेशबाट एक–एक जना युवा प्रतिनिधि केन्द्रीय कमिटीमा आउने व्यवस्था गरिएको छ । यसरी प्रदेशगत कोटाबाट मात्रै ८ जना युवा समेटिनेछन् ।पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाका लागि ५ प्रतिशत हाराहारी कोटा सुनिश्चित गरिएको जानकारी दिए ।
त्यसैगरी, खुला कोटाबाट २ जना युवा, आदिवासी जनजाति कोटाबाट २ जना युवा, मधेसी कोटाबाट २ जना युवा र दलित कोटाबाट १ जना युवालाई केन्द्रीय कमिटीमा समावेश गरिनेछ । यसरी जम्मा १५ जना युवा केन्द्रीय कमिटीमा पुग्नेछन् । यसअघि केन्द्रीय कमिटीमा युवाको सहभागिता १० देखि १५ प्रतिशतसम्म हुनुपर्ने माग उठ्दै आएको थियो ।