काठमाडौं, माघ १३ :

लाइसेन्स ट्रायलमा रकम असुलेको आरोपमा यातायात कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जना कर्मचारीको मोबाइल अख्तियारले नियन्त्रणमा लिएको छ । 

मंगलबार अख्तियारबाट विशेष टोली छड्केमा जाँदा कैफियत भेटेपछि कार्यालय प्रमुखसहित १७ कर्मचारी, यातायातमा खटिएका तीनजना प्रहरी र ड्राइभिङ सेन्टरका ७ जनाको साथबाट मोबाइलसहितका उपकरणहरु नियन्त्रणमा लिएको हो ।

लाइसेन्सका लागि लिखित परीक्षा दिएर अनुत्तीर्ण भएका तर पुन: परीक्षामा सामेल गराइएकाहरुको पनि कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।यातायात कार्यालय चाबहिलमा विचौलियामार्फत कर्मचारीले मिलेमतोमा लाइसेन्स बाड्ने गरेको पहिल्यैदेखि आरोप लाग्दै आएको छ । लिखित जाँच दिनेबाट ५ हजारदेखि १० हजारसम्म रकम असुलेर लाइसेन्स दिने गरेको अख्तियारमा उजुरी परेको थियो ।