
अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको थियो । कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको थियो ।
काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भएपनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोले कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको बताउनुभयो।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले मर्मत सम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुने जानकारी दिनुभयो।
लाकुरी भञ्जाङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत सम्भारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ ।
बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ । गोदावरी- ३ पुल्चोकी जाने बाटोमा अवरोध छ । बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ ।
भट्टेडाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रुपमा प्राप्त हुन सकेको छैन । तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।