सिन्धुपाल्चोक, असोज १५ :

सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ३ को तेगा गाउँमा शनिबार गएको पहिरोमा परेका सात जना अझै बेपत्ता छन् । 

शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिनुभयो । 

पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएका सहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् । 

वडाध्यक्ष दोङले स्थानीयले हेर्दा तेम्बाथाङ अगाडि र तेगा नजिकै पनि पहिरो गएको देखिएको जानकारी प्राप्त भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले हेलिकप्टरमार्फत उक्त स्थान निरीक्षण गर्नुभएको छ । 

तेगा पहिरो पीडितका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।