
आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेज (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् ।
निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरूले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।
कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा एयरहोस्टेज आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिएका छन् ।
झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुख सहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधी प्रदर्शन गरेको थिए ।
आफ्ना मागको सुनुवाइ नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताउनुभयो ।
निगम व्यवस्थापनले भने एयरहोस्टेजको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।
सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।